मकवानपुर, भदौ २८ :

लागु औषध दुर्व्यसनीमा लागेका महिलाहरूको आचरणमा सुधार ल्याउन मकवानपुरको हेटौँडामा महिला सुधार केन्द्र सञ्चालनमा आएको छ ।

महिला लागू औषध प्रयोगकर्ताको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएपछि हेटौँडा उपमहानगरपालिका- ९ लामसुरेहाइटमा महिला लागूऔषध तथा मादक पदार्थ पुनर्स्थापना गृह सञ्चालनमा आएको हो । 

मकवानपुर जिल्लामा पुरुष जस्तै महिला लागू औषध प्रयोगकर्ता बढ्दै  गएकाले दुर्व्यसनीमा फसेका महिलाको सकारात्मक जीवनका लागि अवसर सृजना गर्ने र आचरण, व्यवहारमा सुधार ल्याउने उद्देश्यले पुनर्स्थापना गृह सञ्चालनमा ल्याइएको महिला पुर्नस्थापना केन्द्रका संयोजक तान्या अग्रवालले जानकारी दिनुभयो । 

जिल्लामा महिला सुधार गृह नहुँदा लागू औषध प्रयोगकर्ता महिलालाई राख्न समस्या भइरहेकाले तत्कालका लागि १५ जनालाई राख्नसक्ने क्षमताको सुधार गृह सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो ।

हाल उक्त पुर्नस्थापना गृहमा दुई जना लागू औषध प्रयोगकर्ता रहेका जनाउँदै संयोजक अग्रवालले उहाँहरूको हेरचाहका लागि दुई परामर्शकर्ता र एक जना चिकित्सक परिचालन गरिएको जानकारी दिनुभयो ।

महिला सुधार गृहमा विशेष गरी मनोपरामर्श सेवा, हेरचाह, योग, ध्यान, आध्यात्मिक जागरण, खेलकुद गतिविधिका माध्यमबाट लागूऔषध तथा मादक पदार्थ प्रयोगकर्ताको आचरणमा परिवर्तन गर्ने प्रयास गरिएको छ ।