काठमाण्डौं, असोज २६ :

सुक्खा पहिरो गएपछि सिद्धिचरण राजमार्ग अन्तर्गत उदयपुरको कटारी–घुर्मी सडक अवरुद्ध भएको छ ।

आज बिहान उक्त सडकखण्डको कटारी नगरपालिका–१४ को भलुवानीमा पहिरो गएको हो । पहिरोले सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।ठूलो पहिरो गएकाले सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।  

स्काभेटर, जेसिवीले मात्रै तत्काल अवरुद्ध सडक हटाउन सम्भव नभएको बताईएको छ । ओखलढुङ्गाको हर्कपुरमा रहेको सडक कार्यालयसँग समन्वय गरी ठूलो लोडर माग गरिएको प्रहरी जनाएको छ ।

सडकखण्ड अवरुद्ध भएपछि कोशी प्रदेशका पूर्वी सहरबाट पहाडी जिल्ला खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु जाने र पहाडी जिल्लाबाट तराई क्षेत्रमा आउने यात्रुलाई समस्या भएको छ ।

यो खण्ड पहाडी जिल्लालाई तराईसँग जोड्ने सबैभन्दा छोटो बाटो हो ।