सोमबार, २३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#अर्थमन्त्री डा स्वर्णिम वाग्ले#पिस कोर#विदेशी साथी#कर्ण शाक्य#जुवातास#तिहारको पटाका#उपत्यकाको वायु प्रदूषण बढ्यो#पटका पड्काउने क्रममा#आपूर्तिमन्त्री दीपककुमार साह#भारतीय राजदूत सुधाकर दलेला#एनपीएल#पोखरा एभेन्जर्सको पहिलो जित#कोप-३१#परराष्ट्रमन्त्री शिशिर खनाल#पोखरा एभेन्जर्स#सुनचाँदीको मूल्य #अर्थमन्त्री डा स्वर्णिम वाग्ले#पिस कोर#विदेशी साथी#कर्ण शाक्य#जुवातास#तिहारको पटाका#उपत्यकाको वायु प्रदूषण बढ्यो#पटका पड्काउने क्रममा#आपूर्तिमन्त्री दीपककुमार साह#भारतीय राजदूत सुधाकर दलेला#एनपीएल#पोखरा एभेन्जर्सको पहिलो जित#कोप-३१#परराष्ट्रमन्त्री शिशिर खनाल#पोखरा एभेन्जर्स#सुनचाँदीको मूल्य
समाचार

६० वर्ष पुरानो मित्रताको सम्मान : कर्ण शाक्यले विदेशी पिस कोर साथीलाई गराए भीमरथारोहण

विदेशी पाहुनाहरूलाई ढाका टोपी र दौरा सुरुवालमा सजाइएको थियो।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · २६ मिनेट अगाडि प्रकाशित
६० वर्ष पुरानो मित्रताको सम्मान : कर्ण शाक्यले विदेशी पिस कोर साथीलाई गराए भीमरथारोहण
काठमाडौं, कात्तिक २३ :

पर्यटन व्यवसायी कर्ण शाक्यले करिब ६० वर्षअघि नेपालमा सँगै काम गरेका ‘पिस कोर’का पुराना विदेशी साथीहरूलाई नेपाली परम्पराअनुसार सम्मान गरेका छन्। नेवार समुदायको मौलिक धार्मिक तथा सांस्कृतिक परम्परा अनुसार बुढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा सोमबार ‘हजार चन्द्र दर्शन तथा भीमरथारोहण’ विशेष कार्यक्रम गरी उनीहरुलाई सम्मान गरेका हुन् ।

त्यस अवसरमा विदेशी पाहुनाहरूलाई ढाका टोपी र दौरा सुरुवालमा सजाइएको थियो। नेपाली परम्परागत पोशाकमा सजिएका विदेशी ज्येष्ठ नागरिकलाई देख्दा आफूलाई नेपाली हुनुको गर्व र गौरव महसुस भएको शाक्यले बताए। जीवनको महत्वपूर्ण मोडमा साथ र सहयोग गरेका पुराना मित्रहरूसँग पुनर्मिलन गर्ने तथा नेपाली मौलिक संस्कृतिको अनुभव गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको शाक्यले बताए।

नेवार समुदायमा प्रचलित सहस्र चन्द्र दर्शन तथा भीमरथारोहण करिब ८१ वर्ष ८ महिना उमेर पूरा गरी जीवनकालमा एक हजार पूर्णचन्द्र दर्शन गरेको अवसरमा गरिने विशेष संस्कार हो। ज्येष्ठ नागरिकलाई जीवित देवताका रूपमा सम्मान गर्दै उनीहरूबाट नयाँ पुस्ताले दीर्घायु, सुख, शान्ति र समृद्धिको आशीर्वाद लिने यस संस्कारको विशेष धार्मिक तथा सांस्कृतिक महत्व छ।

शाक्यले करिब ६० वर्षअघिको पिस कोरका साथीहरूसँगको मित्रता र आत्मीयता पुनः स्मरण गर्न पाउँदा खुसी लागेको बताए। आफ्नो पर्यटन यात्राको सुरुवाती दिनमा पिस कोरका साथीहरूले नेपाल र नेपाली समुदायलाई पुर्‍याएको सहयोग, साथ र माया जीवनभर बिर्सन नसक्ने उनको भनाइ थियो।

उनका अनुसार तत्कालीन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीको कार्यकालमा सुरु भएको पिस कोर कार्यक्रममार्फत अमेरिकी स्वयंसेवकहरू नेपाल आएर ग्रामीण क्षेत्रमा कृषि, शिक्षा, वातावरण तथा सामुदायिक विकासका क्षेत्रमा काम गरेका थिए। उनीहरूले नेपाली समुदायसँग मिलेर विभिन्न सामाजिक तथा विकास निर्माणका गतिविधिमा योगदान पुर्‍याएका थिए। त्यतिबेला पिस कोरमार्फत नेपाली युवायुवतीलाई छात्रवृत्ति, स्वयंसेवाको अवसर तथा अमेरिकाका विद्यालय र विश्वविद्यालयमा अध्ययन गर्ने अवसरसमेत उपलब्ध गराइएको थियो।

त्यस समयमा नेपालमा सक्रिय भूमिका निर्वाह गरेका र हाल ८० वर्षभन्दा बढी उमेर पुगेका ८ जना विदेशी साथीहरूलाई नेपालमा बोलाएर  विशेष कार्यक्रम आयोजना गरिएको शाक्यले सम्मान गरेका हुन्।

शाक्यले विदेशी पाहुनालाई नेपाली संस्कार र संस्कृतिअनुसार पूजा तथा सम्मान गर्नु उनीहरूप्रतिको सद्भाव व्यक्त गर्ने माध्यम मात्र नभई नेपाली मौलिक परम्परालाई विश्वव्यापी बनाउने अवसरसमेत भएको बताए।

‘विदेशीलाई हाम्रो संस्कार र संस्कृतिअनुसार पूजा गर्नु उनीहरूप्रतिको सम्मान मात्रै होइन, नेपाली संस्कार, संस्कृति, परम्परा र रीतिरिवाजलाई विश्वव्यापीकरण गर्ने एउटा राम्रो अवसर पनि हो। नेपालमा ज्येष्ठ नागरिकलाई भगवान्सरह सम्मान गर्ने अद्भुत संस्कार छ भन्ने कुरा उनीहरूले बुझून् भन्ने हाम्रो चाहना हो,’ शाक्यले भने।

उनले यस्ता सांस्कृतिक परम्परालाई पर्यटनसँग जोडेर पनि हेर्नुपर्ने बताए। नेपालमा रहेका मौलिक तथा अलौकिक संस्कृतिले विदेशी पर्यटकलाई आकर्षित गर्ने उल्लेख गर्दै उनले यस्ता परम्पराको संरक्षण र प्रचारप्रसार नेपाली पर्यटनका लागि महत्वपूर्ण रहेको धारणा राखे।

‘हामीसँग भएका यस्तै मौलिक संस्कृतिले विदेशीलाई नेपालतर्फ आकर्षित गरेका छन्। हाम्रा संस्कार र परम्पराप्रतिको आकर्षणकै कारण उनीहरूले नेपाललाई माया गरेका हुन्। त्यसैले यस्ता प्रयास नेपाली पर्यटनका लागि पनि आवश्यक छन्,’ उनले भने।

कार्यक्रममा विभिन्न देशबाट आएका पिस कोरका पूर्वस्वयंसेवकहरूले पनि शाक्यले दिएको माया, सद्भाव र आत्मीयताको प्रशंसा गरेका थिए। नेपाली आतिथ्य सत्कार, पुराना साथीहरूसँगको पुनर्मिलन र आफूहरूलाई नेपाली परम्पराअनुसार गरिएको सम्मानबाट निकै प्रभावित भएको उनीहरूले बताएका थिए।

वर्षौँपछि भएको भेटघाटले पुराना सम्झना ताजा बनाउनुका साथै दशकौँदेखिको मित्रतालाई थप प्रगाढ बनाएको सहभागीहरूको भनाइ थियो।

६० वर्ष पुरानो मित्रता, आपसी सहयोग, मानवीय सम्बन्ध र नेपाली मौलिक सांस्कृतिक परम्परालाई एउटै मञ्चमा जोडेको यस कार्यक्रमले ज्येष्ठ नागरिकप्रतिको सम्मान र नेपाली आतिथ्य संस्कृतिको विशिष्ट पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन मद्दत पुग्ने विश्वास गरिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार