बाँके, मंसिर २४ :

दशौँ धारा नेपालगञ्ज म्याराथनको उपाधि पुरुषतर्फ नेपाली सेनाका खडकबहादुर खड्का र महिलातर्फ सन्तोषी श्रेष्ठले जितेका छन् ।

खड्काले दुई घण्टा १७ मिनेट ४८ सेकेन्डमा ४२ दशमलव एक सय ९५ किलोमिटरको दौड पूरा गर्दै उपाधि जितेका हुन्। उनी गत संस्करणको उपविजेता र आठौँ संस्करणको विजेता पनि हुन् ।  

पुरुष म्याराथनमा नेपाली सेनाकै राजन रोकाया र सुशील कुमार क्रमशः दोस्रो र तेस्रो भए। रोकायाले दुई घण्टा १७ मिनेट ५३ सेकेन्डमा निर्धारित दूरी पार गरेका थिए  भने शाहीले दुई घण्टा २१ मिनेट ४५ सेकेन्डमा सो दूरी पूरा गरे । विजेताले क्रमशः दुई लाख, एक लाख र रु ५० हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

यसैगरी नेपालगञ्ज महिला हाफ म्याराथनको उपाधि लगातार चौथोपटक सन्तोषी श्रेष्ठले जितेकी छिन् । सो स्पर्धामा पुष्पा भण्डारी दोस्रो र विमला कार्की तेस्रो भए । उनीहरूले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार पुरस्कार प्राप्त गरेका छन् ।