म्याग्दी, मंसिर २५ :

धौलागिरि गाउँपालिका- ३ मुनाको बञ्चरेडाँडा जङ्गलमा सङ्कटापन्न जङ्गली जनावर रेडपाण्डा (हाब्रे) भेटिएको छ ।

समुद्री सतहबाट दुई हजारदेखि चार हजार आठ सय मिटरको उचाइमा बसोबास गर्ने रेडपाण्डालाई सरकारले सङ्कटापन्न वन्यजन्तुको सूचीमा राखेको छ ।

मुना मालिका पुगेर फर्कने क्रममा आइतबार धौलागिरि गाउँपालिका जनप्रतिनिधि र कर्मचारीको टोलीले समुद्री सतहदेखि तीन हजार एक सय मिटर उचाइमा रेडपाण्डा भेटाएका हुन् । 

धौलागिरि गाउँपालिकाका कर्मचारी तेजिन्द्र पुनले रेडपाण्डाको तस्वीर र भिडियो खिचेर वन प्राविधिकलाई उपलब्ध गराउनुका साथै सार्वजनिक गर्नुभएको छ । साविक मुना गाविसको जङ्गलमा पहिलोपटक रेडपाण्डा भेटिएको स्थानीय पुनले जानकारी दिनुभयो । 

डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख विष्णुप्रसाद अधिकारीले बञ्चेडाँडामा भेटिएको उक्त जनावर रेडपाण्डा भएको पुष्टि गर्नुभयो । उहाँले रेडपाण्डा संरक्षणका लागि मन्त्रालय र दातृ निकायका परियोजनामा कार्यक्रम प्रस्ताव गर्ने बताउनुभयो ।

वि. सं २०७३ मा विश्व वन्यजन्तु कोषको सहयोग तथा हरियो वन कार्यक्रमको आर्थिक सहयोग मार्फत रेडपाण्डा नेटवर्क र हिमाली संरक्षण मञ्चले खोजी अभियान सञ्चालन गरेको थियो । 

रेडपाण्डा नेटवर्कका अनुसन्धानकर्ता बद्री बरालका अनुसार यसअघि रेडपाण्डाको बासस्थान फेला पारे पनि प्रत्यक्ष देखिएको थिएन ।