पर्सा, मंसिर २५ :

सहकारी ठगी प्रकरणमा अनुसन्धानका क्रममा रहनुभएका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बयानका लागि पर्सामा ल्याइएको छ । 

वीरगञ्जको सानो पाइला सहकारीको रकम ठगी अभियोगमा अनुसन्धानका लागि आज लामिछानेलाई पोखराबाट हवाई उडान मार्फत पर्सामा ल्याइएको हो ।

प्रहरीले सभापति लामिछानेलाई आज पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै सिमरा विमानस्थलसम्म हवाई उडानमार्फत ल्याइएको हो ।

पर्सा प्रहरीले लामिछानेलाई सिमराबाट भने सवारी साधनमा राखेर पर्सा ल्याएको हो । गत मङ्सिर १९ गते पर्सा जिल्ला अदालतले सानो पाइला सहकारी ठगी प्रकरणमा सभापति लामिछानेसहित १४ जनाको नाममा पक्राउ पुर्जी जारी गरेको थियो । 

पक्राउ पुर्जीको आधारमा थप अनुसन्धानको लागि लामिछानेलाई पर्सा ल्याइएको हो । 

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले आज साँझ लामिछानेलाई थप अनुसन्धानको लागि पर्सा ल्याइएको जानकारी दिनुभयो । 

आवश्यक कानुनी प्रक्रिया पूरा गरेर सरकारी वकिलको कार्यालयमा बयानका लागि लैजाने उहाँले बताउनुभयो ।

यसैबीचमा रास्वपाका सभापति लामिछानेलाई वीरगञ्ज ल्याउने क्रममा रास्वपाका कार्यकर्ताले सिमरा र वीरगञ्जमा विरोध प्रदर्शन गरेका थिए । 

पर्सा प्रहरीले सानो पाइला सहकारी प्रकरणमा जोडिएका गोर्खा मिडिया तत्कालीन उपाध्यक्ष छविलाल जोशी बन्जाडे र रामबहादुर खनाललाई स्थलमार्गबाट आइतबार मध्यरातमा पर्सामा ल्याइएको पनि उहाँले जानकारी दिनुभयो । 

सरकारी वकिलको कार्यालयमा आज  जोशी र खनालको बयान भएको छ । पर्सा जिल्ला अदालतले गत मङ्सिर १९ गते रास्वपाका सभापति लामिछाने, गोर्खा मिडियाका तत्कालीन उपाध्यक्ष छविलाल जोशीसहित १४ जनालाई पक्राउ गरेर अनुसन्धान गर्नका जिल्ला प्रहरी कार्यालय पर्सालाई अनुमति दिएको थियो । 

तत्कालीन समयमा लामिछाने प्रबन्ध निर्देशक रहेको समयमा सानो पाइला सहकारीबाट करिब आठ करोड रकम गोर्खा मिडिया नेटवर्कमा गएको बताइएको छ ।

कास्की, रूपन्देही, काठमाडौँ र चितवन जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेर जिल्ला- जिल्लामा बयान लिने क्रम जारी छ ।