काठमाडौं, चैत १२ :

जनमत पार्टी  र  नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले एकता गर्ने निर्णय गरेका छन् । नाउपाका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी, पार्टी संरक्षक रेशम चौधरी, जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतलगायत नेताबीचको निरन्तरको छलफलले एकता गर्ने निधो भएको हो ।

अध्यक्ष श्रेष्ठले नाउपा र जनमत पार्टीबिच एकता गर्ने निर्णय भएपछि कार्यदल गठन गरिएको जानकारी दिइन् । अध्यक्ष श्रेष्ठका अनुसार नाउपाबाट कार्यदलमा गङ्गाराम चौधरी, सुनिता चौधरी, रामलाल डगौरा र जनमतबाट अब्दुल खाँण, सरदसिंह यादव, बालगोविन्द चौधरी रहेका छन् ।

कार्यदललाई १५ दिनभित्र छलफल गरेर पार्टी एकतालाई अन्तिम रूप दिन निर्देशन दिइएको छ । यद्यपि चुनाव चिह्न र पार्टीको नाम के राख्ने भन्ने विषयको टुंगो लाग्न भने बाँकी रहेको नेताहरुले बताएका छन् । पार्टीको नाम, नेतृत्व र चुनाव चिह्नबारे टुंगो लाग्न बाँकी रहे पनि एकता प्रक्रिया नरोकिने बताइएको छ।