आइतबार, २५ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान #घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान
विचार

घटस्थापनाको धार्मिक मान्यता र जमरा राख्ने परम्परा

सुरेन्द्र पौड्याल सुरेन्द्र पौड्याल · ८ घण्टा अगाडि प्रकाशित
घटस्थापनाको धार्मिक मान्यता र जमरा राख्ने परम्परा
काठमाडौं, असोज २४ :

बडादसैँको पहिलो दिन अर्थात् आश्विन शुक्ल प्रतिपदालाई घटस्थापना भनिन्छ। घटस्थापना बडादसैँको सुरुवात मात्र नभई नेपाली धर्म, संस्कृति, परम्परा र आध्यात्मिक आस्थाको महत्त्वपूर्ण प्रतीक पनि हो। यस दिन घरघरमा घट (कलश) स्थापना गरी माता दुर्गा भवानीको आह्वान गरिन्छ । यस दिन गरिने घटकलश स्थापना, जमरा रोपण, देवीको आह्वान तथा नवरात्रिको पूजा–आराधनाले शक्ति, समृद्धि, ज्ञान, शान्ति र कल्याणको कामना अभिव्यक्त गर्छन्।  जमरा राखेर नौ दिनसम्म चल्ने नवरात्रिको पूजा-आराधना सुरु गरिन्छ।

घटस्थापना गर्नुअघि घरको पूजाकोठा वा दसैँघरलाई सफासुग्घर गरी लिपपोत गरिन्छ। विशेषगरी माटोको घडालाई अघिल्लो दिन नै धोइपखाली चोखो बनाइन्छ। त्यसपछि पूजास्थलमा चोखो बालुवा वा पञ्चमाटो राखेर जौ छरिन्छ। जौ छरेको स्थानमा जलपूर्ण कलश स्थापना गरी त्यसमा माता जगदम्बा भवानीको आह्वान गरिन्छ।

धार्मिक मान्यता

धार्मिक मान्यताअनुसार, रावणले सीताको हरण गरेपछि श्रीरामचन्द्रले रावणमाथि विजय प्राप्त गर्ने उद्देश्यले महामाया भगवतीको आह्वान गरी घट स्थापना गरेका थिए। उनले बालुवाको वेदीमा जौ छरेर नौ दिनसम्म देवीको पूजा–आराधना गरेका थिए। यही परम्पराको स्मरण गर्दै आज पनि आश्विन शुक्ल प्रतिपदाका दिन घरघरमा घटस्थापना गरी दुर्गा भवानीको आराधना गर्ने चलन रहिआएको छ।

जमरा राख्ने विधि

घटस्थापनाका दिन गरिने दुई प्रमुख कार्यमध्ये जमरा राख्ने र घटकलश स्थापना गर्ने कार्य विशेष महत्त्वका छन्। यस दिन बिहानै आत्मशुद्धि गरी नदी, खोला, बगर वा आफूलाई पायक पर्ने स्थानबाट चोखो बालुवा अथवा पञ्चमाटो ल्याइन्छ। उक्त माटो दसैँघर वा पूजाकोठामा राखेर त्यसमा जौ छरिन्छ। यसरी छरिएको जौलाई विधिपूर्वक पानी दिई नौ दिनसम्म हुर्काइन्छ, जसलाई जमरा भनिन्छ।

वैदिक परम्परामा जौलाई यज्ञका लागि आवश्यक महत्त्वपूर्ण अन्न मानिन्छ। माता भगवतीलाई प्रिय वनस्पतिमध्ये जमरा पनि एक भएकाले देवीलाई प्रसन्न पार्ने तथा सुख, समृद्धि, शान्ति र कल्याणको कामना गर्ने उद्देश्यले जमरा उमार्ने धार्मिक परम्परा रहेको छ। विजयादशमीका दिन यही जमरा टीकासँगै प्रसादका रूपमा ग्रहण तथा वितरण गरिन्छ।

जमरा राखिएको स्थाननजिकै शुद्ध जलले भरिएको माटोको कलश स्थापना गरिन्छ। कलशको वरिपरि गाईको गोबरले नौवटा वेदी बनाई नवदुर्गाका प्रतीकका रूपमा पूजा गर्ने परम्परा छ। कलशमा पञ्चपल्लवका पात चढाइन्छ र विधिपूर्वक देवीदेवताको आह्वान गरिन्छ। त्यसपछि अनन्त शक्तिस्वरूपा महाकाली, महालक्ष्मी र महासरस्वतीको पञ्चोपचार विधिअनुसार पूजा–आराधना गरिन्छ। धार्मिक मान्यताअनुसार महाकालीले संहार, महालक्ष्मीले समृद्धि तथा संरक्षण र महासरस्वतीले ज्ञान एवं सृष्टिको शक्तिलाई प्रतिनिधित्व गर्छन्।

ब्रह्मवैवर्त पुराणमा वर्णन गरिएका नवदुर्गाका विभिन्न स्वरूप तथा दिशासम्बन्धी मान्यताले देवीलाई सम्पूर्ण दिशाकी अधिष्ठात्री शक्तिका रूपमा चित्रण गरेको पाइन्छ। त्यसैगरी, धार्मिक ग्रन्थहरूमा कलशलाई देवीदेवता, सप्तसागर, सप्तद्वीप, सम्पूर्ण नदी तथा तीर्थहरूको प्रतीकात्मक निवासका रूपमा व्याख्या गरिएको छ। कालिका पुराणमा पनि कलशको धार्मिक महत्त्वसम्बन्धी मान्यताहरू उल्लेख गरिएको पाइन्छ।

यसरी कलशमा सम्पूर्ण देवीदेवता तथा पवित्र तीर्थहरूको प्रतीकात्मक उपस्थिति रहेको विश्वास गरिने भएकाले घटस्थापनालाई दसैँको पूजा–आराधनाको आधारभूत विधिका रूपमा लिइन्छ। यसले आफ्नै घरमा श्रद्धापूर्वक भगवतीको पूजा गर्दा सम्पूर्ण देवीदेवताको आराधना गरेको पुण्य प्राप्त हुने धार्मिक विश्वासलाई समेत प्रतिबिम्बित गर्छ।

घटस्थापनासँगै नवरात्रि आरम्भ

घटस्थापनासँगै नवरात्रि आरम्भ हुन्छ। यस दिनदेखि नवमीसम्म नौ दिन देवी दुर्गाका विभिन्न स्वरूपको पूजा, आराधना र प्रार्थना गरिन्छ। नेपाली समाजमा नवरात्रिलाई श्रद्धा, भक्ति, आत्मशुद्धि र साधनाको विशेष समयका रूपमा लिइन्छ।

परम्पराअनुसार, नवरात्रिका दिनहरूमा भक्तजनहरू बिहान सबेरै उठेर, सूर्योदयअघि नै नदी तथा तीर्थस्थलमा स्नान गर्छन्। काठमाडौँ उपत्यकामा बागमती, विष्णुमतीलगायतका नदीमा स्नान गरी गुह्येश्वरी, वनकाली, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती र इन्द्रायणी जस्ता शक्तिपीठहरूको दर्शन गर्ने चलन रहेको छ।

बोलिचालीमा नवरात्रिलाई ‘नौरथा’ पनि भनिन्छ। यस अवधिमा बाजागाजासहित विभिन्न तीर्थस्थलमा स्नान गर्ने परम्परालाई नवरात्र स्नान भनिन्छ। यससँग सम्बन्धित प्रमुख तीर्थस्थलहरूमा गोकर्ण, शङ्खमूल, आर्यघाट (पशुपति क्षेत्र), गुह्येश्वरी र विष्णुमतीलगायतका स्थान पर्दछन्। यस्ता धार्मिक गतिविधिले भक्तजनमा आस्था, अनुशासन र आध्यात्मिक चेतना अभिवृद्धि गर्ने विश्वास गरिन्छ।

नवरात्रिभरि पूजा-आराधना

घटस्थापनादेखि नवमीसम्म नेपालीहरूका घरघरमा तथा देवीका मन्दिरहरूमा घटस्थापनाकै दिनदेखि सुरु गरिएको विधिअनुसार दुर्गा भवानीको पूजा, आराधना र प्रार्थना गरिन्छ। पूजाका क्रममा शङ्ख, डमरू, घण्टीलगायतका धार्मिक बाजा बजाइन्छन्। यस अवधिमा दुर्गासप्तशती (चण्डी), स्तोत्ररत्नावली, कालिकास्तोत्र, दुर्गाकवच तथा श्रीमद्देवीभागवत् जस्ता धार्मिक ग्रन्थहरूको पाठ गर्ने परम्परा छ।

परम्परागत शास्त्रीय विधानमा पूजासँगै बलि दिने प्रचलनको पनि उल्लेख पाइन्छ। विगतमा दसैँका अवसरमा विभिन्न शक्तिपीठ तथा घरमा बलि दिने चलन व्यापक थियो। तर समयक्रमसँगै सामाजिक चेतना, धार्मिक अभ्यासमा आएको परिवर्तन र अहिंसाप्रतिको जोडका कारण कतिपय स्थानमा बलिप्रथा घट्दै गएको छ। 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार