भुवनेश्वरीबाट गौशालातर्फ जाने सडकको भकुंत्वामा (गणेश मन्दिरसँगै) जीर्ण अवस्थामा रहेको ऐतिहासिक ‘फल्चा’को काठमाडौं महानगरपालिका- ८ ले पुनर्निर्माण सुरु गरेको छ। विसं १९९३ मा स्थानीय जुमान महर्जनले निर्माण गरेको उक्त फल्चाको करिब ९० वर्षपछि पुनर्निर्माण गर्न लागिएको हो। बिहीबार धार्मिक विधि अनुसार पूजापाठ गरी फल्चा पुनर्निर्माणको शिलान्यास गरिएको छ । १५ लाख रुपैयाँको लागतमा फल्चा पुनर्निर्माण गर्न लागेको हो।
शिलान्यास कार्यक्रममा बोल्दै वडा नं. ८ का अध्यक्ष एवं सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले ऐतिहासिक तथा पुरातात्त्विक सम्पदाको संरक्षण गर्नु महानगरपालिकाको महत्वपूर्ण दायित्व भएको बताए।
उनले पशुपति क्षेत्र विकास कोषले विसं २०५९ मा गुरुयोजना लागू गर्ने क्रममा उक्त फल्चा भत्काइएको र त्यसको भग्नावशेषसमेत नरहेको अवस्थामा वडाले पुनर्निर्माणको पहल गरेको जानकारी दिए।
‘हाम्रा पुर्खाले छोडेर गएका सम्पदा र ऐतिहासिक धरोहरको संरक्षण गर्नु हाम्रो कर्तव्य हो। हराएका तथा नष्ट भएका पुरातात्त्विक सम्पदाको खोजी, संरक्षण र पुनरुत्थान गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्न महानगरपालिका प्रतिबद्ध छ,’ अध्यक्ष संगतले भने।
उनले पशुपति क्षेत्र विकास कोषको मुख्य जिम्मेवारी नै पशुपति क्षेत्रभित्रका सम्पदाको संरक्षण र विकास गर्नु भए पनि सम्पदा संरक्षणमा अपेक्षाकृत काम हुन नसकेको टिप्पणी गरे। कोषले नयाँ संरचनाको व्यवस्थापन र बाह्य सौन्दर्यमा मात्र नभई पुराना सम्पदाको संरक्षण तथा पुनर्निर्माणमा पनि उत्तिकै ध्यान दिनुपर्ने उनको भनाइ थियो।
‘पशुपति क्षेत्र विकास कोषले बनाउनुपर्ने धेरै सम्पदा छन्। सम्पदाको संरक्षण र पुनर्निर्माण गर्नु कोषको दायित्व हो। तर, कतिपय अवस्थामा निर्माणभन्दा विनाश बढी भएको देखिन्छ,’ उनले भने।
वडाध्यक्ष संगतका अनुसार पुनर्निर्माण हुन लागेको फल्चाको आकार ठूलो नभए पनि यसको ऐतिहासिक, सांस्कृतिक र सामाजिक महत्व निकै ठूलो छ। करिब १५ लाख रुपैयाँ लागतमा निर्माण हुने फल्चाको काम एकदेखि डेढ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको संगतले बताए।
उनले यस कार्यमा पुरातत्त्व विभागको समेत सहयोग र सहमति प्राप्त भएको उल्लेख गर्दै सबै पक्षको सहकार्यमा पुनर्निर्माण प्रक्रिया अघि बढाइएको बताए।
काठमाडौं महानगरपालिकाले पछिल्लो समय आफ्नो क्षेत्रभित्र रहेका ऐतिहासिक मठमन्दिर, पाटी, पौवा तथा अन्य सम्पदाको संरक्षण र पुनर्निर्माणलाई प्राथमिकता दिँदै आएको छ।