नेकपा एमालेका महासचिव शंकर पोखरेलले सूचना प्रविधिको विकाससँगै सामाजिक सञ्जालको अल्गोरिदमले समाजमा विकृति र भ्रम फैलाइरहेको बताएका छन्।
काठमाडौँको टोखा नगर कमिटीले मौलिक महान पर्वहरू एवं नेपाल संवत् ११४७ नयाँ वर्षका अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता पोखरेलले प्रविधि र सामाजिक सञ्जालको दुरुपयोगले मौलिक संस्कृति र परम्परामाथि चुनौती थपिएको बताए। उनले सामाजिक सञ्जाल र प्रविधिको दुरुपयोगले समाजका मौलिक संस्कृति, परम्परा र मूल्य–मान्यतामाथि नकारात्मक प्रभाव पारिरहेको बताए ।
उनले सूचना प्रविधिको विकासलाई आत्मसात् गर्दै त्यसबाट सिर्जना हुने विकृति नियन्त्रण गर्नुपर्नेमा जोड दिए। उनले पपुलिस्ट, अराजकतावादी र अवसरवादी प्रवृत्तिबाट समाजलाई जोगाउनुपर्ने धारणा पनि राखे । महासचिव पोखरेलले अहिलेको सरकारले महँगी नियन्त्रण र जनताको जीवनस्तर सुधार गर्न नसकेको आरोप लगाए । सरकारको मुख्य दायित्व जनताको सुख, सुविधा र समृद्धि सुनिश्चित गर्नु भए पनि त्यसअनुसार काम हुन नसकेको टिप्पणी गरे ।
नेपाल संवत् ११४७ को अवसरमा शुभकामना व्यक्त गर्दै उनले शङ्खधर साख्वाले ऋणमा डुबेका जनतालाई ऋणमुक्त गराउन गरेको योगदानको स्मरण गरे। मौलिक चाडपर्व, संस्कृति र परम्पराको संरक्षणले राष्ट्रिय एकता बलियो बनाउने उनको भनाइ थियो।