प्रधानमन्त्री बालेन्द्र शाहको आजदेखि हुने भारतको राजकीय भ्रमणबाट नेपाल-भारतबीचको विद्यमान ऐतिहासिक, मैत्रीपूर्ण एवं बहुआयामिक सम्बन्ध थप सुदृढ हुने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विश्वास व्यक्त गरेको छ ।
रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले आज शुभकामना वक्तव्य जारी गर्दै प्रधानमन्त्रीको भ्रमणबाट दुई देशबीच आपसी विश्वास, सहकार्य र साझेदारी अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको बताएका छन् । “राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रधानमन्त्रीको भारत भ्रमण सफल, उपलब्धिपूर्ण तथा सुखद रहोस् भन्ने हार्दिक शुभकामना”, महामन्त्री आचार्यद्वारा जारी शुभकामनामा उल्लेख छ ।
भ्रमणका सन्दर्भमा प्रधानमन्त्री शाहले पार्टी सभापति रवि लामिछानेसँग भेट गरी विस्तृत छलफल तथा जानकारी गराएको महामन्त्री आचार्यले जनाए। उक्त अवसरमा सभापति लामिछानेले नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राख्दै पारस्परिक सम्मान, समानता र साझा हितका आधारमा द्विपक्षीय सम्बन्धलाई अझ मजबुत बनाउन यो भ्रमण कोसेढुङ्गा बन्ने विश्वास व्यक्त गरेका थिए । प्रधानमन्त्री एवं रास्वपाका वरिष्ठ नेता शाह राजकीय भ्रमणको सिलसिलामा आज भारततर्फ प्रस्थान गरेका छन् ।