कतारमा जारी एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपालले पहिलो जित निकालेको छ। यूएईविरुद्ध ६ विकेटको जित निकालेको हो। यूएईले दिएको १२२ रनमको लक्ष्य नेपालले २२ ओभरमा ४ विकेटको क्षतिमा भेट्टाएको थियो।
पहिलो खेलमा भारत ‘ए’सँग ३०६ रनको पराजय व्यहोरेको आज भने नेपालले उत्कृष्ट पुनरागमन गर्दै सहज जित निकाल्यो । नेपालको जितमा ओपनिङ ब्याटर कुशल भुर्तेलले अर्धशतकीय पारी खेले। उनले ५६ बलमा छ चौका र एक छक्कासहित ५६ रनको पारी खेलेका हुन्। एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कुशलको यो दशौँ अर्धशतक हो।
यसैगरी मयन यादवले २७ र बसिर अहमदले अविजित १८ रनको योगदान दिए। युएईका लागि बलिङतर्फ मोहम्मद मोहसिनले दुई तथा उद्देश सुरी र अङ्श टन्डनले समान १–१ विकेट लिए।
त्यसअघि दोहास्थित विज्ञान तथा प्रविधि विश्वविद्यालयको मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको युएईले ३९.५ ओभरमा सबै विकेट गुमाएर १२१ रन बनाएको थियो। उसका लागि मुहम्मद शाहदादले ४०, हरप्रीत सिंहले ३२ र नुरुल्लाह अयोबीले १२ रन बनाए। यूएईका बाँकी ब्याटरले भने दोहोरो अङ्कमा समेत रन जोड्न सकेनन्।
नेपालका लागि बलिङतर्फ कप्तान सन्दीप लामिछाने र कुशल भुर्तेलले समान तीन–तीन तथा राशिद खान, नन्दन यादव र ललितनारायण राजवंशीले १–१ विकेट लिए। यो जितबाट नेपालले २ अङ्क जोडेको छ। समूह ‘बी’ तालिकामा रहेको नेपालले अब समूह चरणको अन्तिम खेलमा मङ्गलबार पाकिस्तान ‘ए’ विरुद्ध खेल्ने छ।