काठमाडौं, चैत १२ :

प्रहरीले सोमबार साँझ कलंकीस्थित एलआरआई स्कुल नजिकको सडक खण्डमा भएको ग्याङफाइटमा हत्या भएका व्यक्तिको अनुसन्धानका लागि १५ जनालाई नियन्त्रणमा लिएको छ ।

ग्याङफाइट भएको सूचना पाएलगत्तै घटना स्थलमा पुगेको प्रहरीको टोलीले विभिन्न स्थानहरुबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएकाहरु मध्ये हत्यामा क-कसको संलग्नता छ भन्ने विषयमा स्क्रिनिङ गर्ने काम भइरहेको परिसरका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए ।

ग्याङफाइटमा सख्त घाइते भएको काठमाडौं ढुंगेअड्डा निवासी २२ वर्षीय अभय गोलेको कलंकीस्थित शहीद ममोरियल अस्पतालमा उपचारका क्रममा हिजो राति नै मृत्यु भएको थियो ।  प्रहरीका अनुसार होलीको दिनको घटनालाई लिएर दुई समूहबीच झडप भएको थियो ।