काठमाडौं, चैत १२ :

प्रधानमन्त्री केपी ओलीले समृद्ध नेपाल, सुखी नेपालीको सपनालाई साकार नहोस् भनेर विरोधीहरूले प्रयास गरिरहेको आरोप लगाएका छन् ।

ललितपुरमा प्रगतिशील इन्जिनियरिङ एसोसिएसनको राष्ट्रिय अधिवेशनमा मंगलबार उनले आफूहरू समृद्ध नेपाल, सुखी नेपालीको सपनालाई साकार पार्ने संकल्पका साथ अघि बढिरहेको दाबी गरे ।

प्रतिपक्षीको भूमिका यथार्थपरक र रचनात्मक हुनुपर्ने भए पनि त्यसो नभइरहेको उनको भनाइ छ । ओलीले विरोधीहरू सरकारलाई बदनाम गर्न र झुट फैलाउन सक्रिय रहेको आरोप पनि लगाए । 

‘हामी समृद्ध नेपाल र सुखी नेपालीको सपना साकार पार्न संकल्पित छौं,’ प्रधानमन्त्री ओलीले भने, ‘तर केही विरोधीहरू यसलाई सफल बनाउन नदिने प्रयासमा छन् ।’  प्रधानमन्त्री ओलीले २०४६ सालको परिवर्तनपछि देशले तीव्र गतिमा प्रगति गरेको दाबीसमेत गरे ।