
मानव बेचबिखन अन्त्यका लागि कानुनी सचेतनाको पाटोलाई प्रभावकारी बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी ९रिस्ट० ले आज धनगढीमा गरेको ‘मानव बेचबिखन अन्त्यका लागि नीतिगत संवाद’ का वक्ताहरूले मानव बेचबिखनको अपराध रोक्नका सम्बन्धित निकायमा स्रोत साधनको उपलब्धता बढाउनुपर्ने, संस्थागत तथा संरचनागत पाटोमा सुधार ल्याउनुपर्ने, सम्बन्धित निकायबीच समन्वयको पाटोलाई पनि प्रभावकारी बनाउनुपर्ने सुझाव दिएका हुन् ।
उनीहरूले मानव बेचबिखन अन्त्यका लागि अन्तर्राष्ट्रिय ‘प्रोटोकल’ मा नेपालले गरेको हस्ताक्षर बमोजिमका ऐन कानुन निर्माणका साथै बनेका ऐन कानुनमा संशोधन गर्नुपर्ने सुझाव दिएका छन् ।
भारतसँगको सीमा खुला भएका कारण मानव बेचबिखनको समस्या अन्त्य गर्न जटिलता देखिने गरेको र प्रविधिको विकाससँगै मानव बेचबिखनको स्वरूपमा पनि फेरिएकाले समयानुकूल नीति बन्नुपर्ने सहभागीको भनाइ थियो ।
कार्यक्रममा प्रदेशसभा सदस्य रक्षा महरा, गोदावरी नगरपालिकाकी उपप्रमुख शारदादेवी रोकाया, गुठीकी उपाध्यक्ष सुदिपा ढुङ्गेल, राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय धनगढीका प्रकाशदत्त भट्ट, कार्यक्रम संयोजक अनामिका खतिवडा, पार्वती सिंह, शान्ति शर्मालगायतले मानवबेचबिखन रोकथामलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
संस्थाले मानव बेचबिखन र लैङ्गिक हिंसाको जोखिममा रहेका बालबालिकालाई सुरक्षित राख्न शैक्षिक र स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चलन गर्दै आएको छ । यस बाहेक बालबालिकालाई स्थानीयस्तरमा मानव बेचबिखन, लैङ्गिक हिंसा, बालविवाह, बालश्रम आदिको रोकथामका लागि भूमिका खेल्नका लागि क्षमता अभिवृद्धि गर्ने जस्ता गतिविधि गर्दै आएको छ ।