
रामेछाप, चैत १३ :
रामेछाप नगरपालिका ५, रामपुरको वसन्त सामुदायिक वनमा लागेको डढेलो बस्तीमा पस्दा ६ वटा घरगोठ जलेर नष्ट भएका छन् ।
मङ्गलबार दिउँसो जंगलको बेलटार क्षेत्रबाट सुरु भएको आगो बस्तीमा बस्दा ४ वटा गोठ र २ वटा घर जलेर नष्ट भएको रामेछापका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिए ।
डढेलोले रामपुरका ठिङ्ग्रे, चुकिया र स्वाङग्रा गाउँका घरहरु भेटेको छ । अहिले अग्नि रेखा बनाएर आगो नियन्त्रणको प्रयास भइरहेको वडा अध्यक्ष हरिचन्द्र श्रेष्ठले बताए ।
डढेलोबाट जलेर ६ वटा बाख्रा र कुखुरासमेत मरेको वडाध्यक्ष श्रेष्ठले बताए । मानवीय क्षति नभए पनि घर र गोठभित्र रहेका सबै खाद्यान्न तथा कपडालगायत सामान जलेर नष्ट भएको उनको भनाइ छ ।
