
पश्चिम नवलपरासीको बर्दघाटमा तीन सवारीसाधन ठक्कर खाँदा २० जना घाइते भएका छन् ।
विद्यार्थी बोकेको स्कुल बस, यात्रुवाहक बस र मोटरसाइकल ठोक्किँदा १४ विद्यार्थीसहित २० जना घाइते भएको प्रहरीले जनाएको छ ।
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर २ र ४ को सिमानामा पर्ने चिसापानी सामुदायिक अस्पतालअगाडि भएको दुर्घटनामा अन्य ६ यात्रु घाइते भएका हुन् ।
पूर्व-पश्चिम महेन्द्र राजमार्गमा सुस्ता गाउँपालिकामा कार्यरत प्राविधिक वीरेन्द्र मण्डल चढेको बा.२.ब ६५४९ नम्बरको मोटरसाइकलले अचानक सडक पार गरेपछि सुर्खेतबाट पोखरातर्फ जाँदै गरेको ग.२ख १५७४ नम्बरको बसले उक्त मोटरसाइकललाई ठक्कर दिएको थियो ।
मोटरसाइकललाई ठक्कर दिएर अनियन्त्रित भएको यात्रुवाहक बसले सडकमा बिद्यार्थी चढाउँदै गरेको बर्दघाट नगरपालिका १२ भुताहाको ग्लोबल एकेडेमीको लु.१ख ८७० नम्बरको बसमा ठक्कर दिँदा धेरै विद्यार्थी घाइते हुन पुगेको प्रहरीले जनाएको छ ।