
फाइल तस्बिर।
नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङले सरकारविरुद्ध सर्वोच्चमा रिट दायर गरेका छन् । आफूलाई हटाउने मन्त्रिपरिषद्को निर्णयविरुद्ध घिसिङले बुधबार अधिवक्ता लोकमणि पोखरेलमार्फत सर्वोच्चमा रिट हालेका हुन्।
रिटमा घिसिङले आफूलाई बर्खास्त गर्ने सरकारको निर्णय बदर गरी तत्काल कामकारबाही गर्न दिनू भनी अन्तरिम आदेशको समेत माग गरेका छन्।
करिब साँझ ५ बजेतिर कार्यालय समय सकिने बेलामा रिट दायर भएको हो । बिहीबार अध्ययन गरेर थप प्रक्रिया अघि बढ्ने बताइएको छ । घिसिङले रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, ऊर्जा मन्त्रालयलगायतलाई विपक्षी बनाएर बनाएका छन्।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई बर्खास्त गरेर हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो।