काठमाडौँ, चैत १४ :

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन अब सबै दल एकजुट हुनुको अर्को विकल्प नरहेको बताएका छन् ।

नेपालको सक्रमणकालीन न्याय प्रक्रिया तथा द्वन्द्व पीडितहरूको सत्य, न्याय र परिपूरणीय अधिकार सम्बन्धी राष्ट्रिय सम्मेलनलाई आज सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले आफूले निकै ठुलो जोखिम उठाएर शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउने प्रयत्न गरेको बताए । 

उनले टीआरसी विधेयक पारित भइसकेको र आयोग गठनका लागि सिफारिस समिति गठन भइसकेको भन्दै पीडितहरूलाई न्याय दिने प्रक्रियालाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिएका छन् । 

‘शान्ति प्रक्रिया कहिले कानुनी, कहिले प्राविधिक र कहिले राजनीतिक उतारचढावले ढिलो भएको स्वीकार गरे  । नेपालको शान्ति प्रक्रिया मौलिक रहेको उल्लेख गर्दै प्रचण्डले यहाँसम्म आउँदा धेरै जटिल विषयहरू कार्यसम्पादन हुँदै आएको स्मरण गराए । सेना समायोजन या संविधान निर्माणसँग सम्बन्धित होस्, यी दुवै सफलतापूर्वक सम्पन्न गरेको  उनको भनाइ थियो ।

उनले सबै राजनीतिक दलहरूबिच शान्ति प्रक्रिया टुङ्ग्याउन विमति नरहेको प्रस्ट पार्दै अब विधेयक संशोधनको कुरा आए पनि त्यसतर्फ लाग्दा थप ढिलाइ हुनसक्ने बताए । उनले सर्वोच्चको फैसलालाई सम्मान गरेर विधेयक टुङ्ग्याउनतिर लाग्नुपर्ने बताए ।

अध्यक्ष प्रचण्डले राजनीतिक तहमा तिक्तता बढोस् भन्ने नचाहेको भन्दै यस्तो राम्रो कामलाई निष्कर्षमा पुर्‍याउन सबै एक हुनुको विकल्प नभएको स्पष्ट पारे ।