काठमाडौं, चैत १४ :

यही चैत १५ गते शुक्रबार राजावादी र गणतन्त्रवादी पक्षधरहरुले शक्ति प्रदर्शन गर्दै छन् । त्यसदिन राजावादीहरुले गर्न लागेको प्रदर्शनलाई टक्कर दिने किसिमले समाजवादी मोर्चा (गणतन्त्र पक्षधर) ले पनि प्रदर्शनमा सहभागी हुन काठमाडौंमा आउन आह्वान गरिरहेका छन् ।

समाजवादी मोर्चा र राजावादी पक्ष १५ चैतमा (भोलि) आमनेसामने मात्र हुने हो कि भिडन्त नै हुने पो हो कि भन्ने चिन्ता पनि उत्तिकै छ । मोर्चाले सरकारले गरेका जनविरोधी र अनियमितताका बारेमा जनतालाई जानकारी गराउँन भन्दै १ लाखभन्दा बढी मानिस उतार्ने दाबी गरेको छ ।

मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपा र नेपाल समाजवादी पार्टी (नेसपा) छन् ।

सरकारकै कारण नेपाली जनतामा असन्तुष्टि र आक्रोश तीव्र रूपमा बढ्दै गएको भन्ने दुवै पक्षको बुझाइ छ । मोर्चामा आबद्ध सबै दलले आ-आफ्ना पार्टी कमिटी, जनवर्गीय संगठन परिचालन गर्ने भएका छन् । मोर्चाको सभालाई चार दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ । मोर्चामा रहेका दलहरु  माइतीघर, कुपण्डोल, त्रिपुरेश्वर, सुन्धारा, न्युरोड गेट,सोह्रखुट्टे, शान्तिवाटिका र मैतिदेवीबाट र्‍यालीसहित निस्केर एकै ठाउँमा भेला हुने बताइएको छ ।

त्यसो त पूर्वराजा ज्ञानेन्द्र शाहलाई पोखराबाट काठमाडौं आउँदा त्रिभुवन विमानस्थल अगाडि भव्य स्वागत गरेर हौसिएका राजावादीहरु पनि प्रदर्शनलाई थप चर्काउन खोज्दै छन् । उनीहरु शक्ति प्रदर्शनलाई सत्ता परिवर्तनको दिशामा लैजान खोज्दै छन् ।

राजसंस्था पुनःस्थापनाका लागि संयुक्त समितिको नेतृत्व गर्ने जिम्मा पाएका पुराना पञ्चायतकालीन नेता नवराज सुवेदी, राप्रपा र मेडिकल व्यवसायी व्यवसायी दुर्गा प्रसाईंले राजतन्त्रको पक्षमा जनतालाई काठमाडौंमा जम्मा पार्ने अभियानमा जुटेका छन् ।

१५ चैतको आन्दोलनमा नवराज सुवेदी मात्र होइन, राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा, कमल थापा नेतृत्वको राप्रपा नेपाल, जगमान गुरुङ, केशर विष्ट, ध्रुवलाल श्रेष्ठ, रञ्जन खनाल, स्वागत नेपाल पनि सहभागी हुने प्रसाईंले बताए ।

राजसंस्था र हिन्दुराष्ट्र ​पुनःस्थापनाको आन्दोलनको रुपमा उनीहरुले चैत १५ को प्रदर्शनलाई अगाडि बढाउन खोज्दै छन् । राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाका लागि संयुक्त आन्दोलनको नेतृत्व गर्ने जिम्मा पञ्च नेता सुवेदीले पाएका छन् ।

अधिकांश नेताहरू सबै राजावादी एक भएर जानुपर्ने पक्षमा उभिएपछि राप्रपा छुट्टै रुपमा आन्दोलन अघि बढाउने कि सुवेदीको नेतृत्वलाई स्वीकार गरेर अघि बढ्ने भन्ने दोधारमा छ । आन्दोलनको नेतृत्व सुवेदीलाई दिइएपछि राप्रपामा दुई धार थियो ।

पूर्वराजा ज्ञानेन्द्र शाहलाई पोखराबाट काठमाडौं आउँदा त्रिभुवन विमानस्थलअगाडि भव्य स्वागत गरेर हौसिएका राजावादीहरु पनि प्रदर्शनलाई थप चर्काउन खोज्दै छन् ।

प्रसाईंले यो सरकारले नेपालीलाई सकुम्बासी बनाउँदै लगेको दाबी गरेका छन् । उनले भने, ‘यो हाम्रो सरकार होइन । यो त मारबाडीको सरकार हो । त्यही भएर यो सरकारका विरुद्ध हाम्रो आन्दोलन हो ।’

सहभागीलाई राजेन्द्र लिङ्देन, कमल थापा, जगमान गुरुङ, नवराज सुवेदी, स्वागत नेपाल, केशर विष्ट, ध्रुवलाल श्रेष्ठ र प्रसाईंले सम्बोधन गर्ने बताए । राजावादीहरुले पनि ठाउँठाउँबाट र्‍याली निकालेर एकै ठाउँमा भेला हुने बताइएको छ । उनीहरुले नारायणहिटी अगाडि भेला हुने  तयारी गरे पनि प्रशासनले महत्वपूण स्थानमा निषेधित क्षेत्र तोकेको छ ।

सरकारले दुवै पक्षको प्रदर्शनमा हुन सक्ने घटनालाई मध्यनजर गर्दै कार्यक्रम गर्ने स्थान र समय तोक्न ढिलाइ गर्न हुँदैन । विगतमा रौतहटको गौरमा भएको नरसंहारको घटना नदोहोरियोस् भन्नेमा सरकार र स्थानीय प्रशासन बेलैमा सजक हुनुपर्छ ।