काठमाडौं, चैत १४ :

दुर्गा प्रसाईंले राजसंस्था पुन:स्थापना लागि गठित संयुक्त जनआन्दोलन समितिको कमान्डरको जिम्मेवारी पाएका छन् । समितिका संयोजक नवराज सुवेदीले बिहीबार राजधानीमा एक पत्रकार सम्मेलन आयोजना गर्दै प्रसाईंलाई कमाण्डरको जिम्मेवारी दिइएको बताए।

प्रसाईंमा आन्दोलनको नेतृत्व गर्ने क्षमता र आँट भएकाले नै  प्रदर्शनको नेतृत्व गर्ने जिम्मेवारी उनलाई दिएको सुवेदीले बताए । पञ्चायतकालीन नेता सुवेदीले आन्दोलनमा सहभागी हुन अपिल समेत गरेका छन् ।

प्रसाईंकै नेतृत्वमा भोलि (शुक्रबार) काठमाडौंमा प्रदर्शन हुँदैछ । राजावादीको प्रदर्शनका लागि काठमाडौं प्रशासनले तीनकुनेको स्थान छुट्याएको छ । प्रदर्शनमा एक लाख भन्दा बढी मानिस उतार्ने दाबी गरिएको छ । पूर्वराजाको स्वागतको समयमा थुप्रै मानिस सडकमा उतारेर हौसिएका राजावादीहरु व्यवस्था नै परिवर्तन गरेर राजसंस्था पुर्नस्थापना गर्न खोज्दैछन् ।

गणतन्त्र पक्षधरहरूले पनि सोही दिन काठमाडौंको भृकुटीमण्डपमा प्रदर्शन गर्दैछन् । दुई छुट्टाछुट्टै ठाउँमा हुने प्रदर्शनलाई ध्यानमा राखेर  प्रहरी प्रशासनले सुरक्षा सतर्कता बढाएको छ ।