पाल्पा, चैत १५ :

पाल्पामा मातृ तथा शिशु मृत्युदर घटाउने अभियान सुरु भएको छ । 

लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले बढ्दो मातृशिशु मृत्युदर घटाउन पाल्पाबाट अभियान सुरु गरेको हो ।

जिल्लामा जनचेतना अभाव, कमजोर आर्थिक अवस्थाका कारण मातृ मृत्युदर तथा नवजात शिशु मृत्युदरको तथ्याङ्क डरलाग्दो रहेकाले यसलाई घटाउन मोबाइलमार्फत पारिवारिक स्वास्थ्य विवरण तयार गर्ने अभियान सुरु गरिएको छ । 

प्रदेश स्वास्थ्य मन्त्रालयका अनुसार मातृ मृत्युदर तथा नवजात शिशु मृत्युदरलाई दोहोरो अङ्क हुँदै एकल अङ्कमा झार्ने गरी योजना बनाइएको जनाएको छ ।

लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले तानसेनबाट अभियान शुभारम्भ गरेका छन् । मन्त्री सारुले जटिल अवस्थाका गर्भावस्था (गर्भदेखि सुत्केरी भएको ४२ दिनसम्म), दुई वर्षमुनिका बालबालिकाको समयमै पहिचान गरी स्वास्थ्य तथा पोषण अवस्थामा सुधार ल्याउन यो कार्यक्रम सुरु गरिएको बताए ।

जिल्लाको मातृ तथा बालमृत्युदर अत्यन्तै कमजोर भएकाले परिवार स्वास्थ्य विवरण तयार गर्न लागेको र २० वर्षभन्दा कम उमेरमा विवाह गर्नेको सङ्ख्यासमेत उच्च रहेकाले किशोरकिशोरीलाई समेत यो अभियानमा संलग्न गर्ने उनले जनाए ।

अभियानमा पारिवारिक विवरण सङ्कलन गर्न ६५ हजार घरपरिवारमा स्वास्थ्यकर्मी पुग्ने छन् । नियमित रूपमा सेवाको उपभोगका लागि सेवाग्राही र सेवा प्रदायकको मोबाइलमा सन्देश पठाई सेवाको उपभोग र पहुँचमा अभिवृद्धि गरिने छ । 

अभियानका लागि पाल्पामा ३९ लाख बजेट विनियोजन गरिएको छ । प्रदेश सरकारले मातृ शिशु मृत्युदर कम गर्न पाल्पासहित बाँके र अर्घाखाँचीमा पनि यो अभियान सञ्चालन गर्दै छ । जसका लागि अर्घाखाँचीका ४८ हजार र बाँकेका ९४ हजार घरपरिवारमा स्वास्थ्यकर्मी पुग्ने छन् ।

महिला बालबालिका तथा किशोरी स्वास्थ्य तथा पोषण अवस्थामा लुम्बिनी प्रदेश देशकै सबैभन्दा कमजोर प्रदेश रहेको विभिन्न समयका सर्वेक्षण तथा अध्ययनले देखाएको छ । 

कमजोर स्वास्थ्य सुचकाङ्क भएका बाँके, अर्घाखाँची र पाल्पाका गर्भवतीदेखि बच्चा जन्मेको दुई वर्षसम्म नियमित निगरानीमार्फत जटिल अवस्थाका गर्भवतीदेखि खोपबाट वञ्चित बालबालिका र पोषण वृद्धि अवस्थाको अनुगमन गरी नियमित सेवामा ल्याउनका लागि हरेक घरपरिवार स्वास्थ्यकर्मी परिचालन गरिने छ ।