
सङ्घीय संसद् अन्तर्गत आज पनि दुवै सदनको बैठक बस्दै छन् ।
बिहान ११ बजे सुरु हुने प्रतिनिधिसभा बैठकमा बैंकिङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने सम्भावित कार्यसूची रहेको छ ।
त्यस्तै पूर्वाधार विकास समितिका माननीय सभापति दीपकबहादुर सिंहले जलस्रोत विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गर्ने र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
त्यस्तै, राष्ट्रियसभाको बैठक दिउसो १ः१५ बजे सुरु हुनेछ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त सुशासन प्रबर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
उपप्रधानमन्त्री एवं अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
कुलमान घिसिङलाई हटाउने निर्णयका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा जवाफ दिनु पर्ने माग गर्दै विपक्षी दलहरूले अवरोध गर्दै आएकोले आजपनि दुवै सदनको बैठक कार्यसूचीमा प्रवेश गर्नेमा टुङ्गो लागेको छैन् ।
बैठक नियमित प्रक्रिया अनुसार अघि बढाउन सभामुख देवराज घिमिरेले संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुख सचेतकसँग बिहीबार दिनभर छलफल गरेका थिए ।
