
नेपाल विद्युत् प्राधिकरणले यसअघि दैनिक १२ घण्टा आयात गर्दै आएको बिजुली आजदेखि १६ घण्टासम्म आयात गर्ने भएको छ ।
प्राधिकरणका अनुसार नेपाली पक्षको आग्रहपछि भारत बिजुली आयातको समय थप चार घण्टा थप्न सहमत भएको हो ।
बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म बिजुली आयात भइरहेकामा अब बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म र राति ११ बजेदेखि बिहान ४ बजेसम्म बिजुली आयात हुने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार ढल्केबर- मुजफ्फरपुरबाट ६ सय मेगावाट र टनकपुर- महेन्द्रनगर प्रसारण लाइनबाट ५४ मेगावाट गरी ६५४ मेगावाट बिजुली आयात हुनेछ । प्राधिकरणले हिउँदमा बिजुली उत्पादन कम हुने भएकाले आन्तरिक माग धान्न भारतबाट आयात गर्दै आएको छ ।
चैत ३ यता प्राधिकरणले भारतबाट दैनिक १२ घण्टा बिजुली आयात गर्दै आएको छ । अब भारतबाट आयात बढेपछि उद्योगहरुमा भइरहेको लोडसेडिङ घट्ने प्राधिकरणले जनाएको छ ।