काठमाडौँ, चैत १७ :

सङ्घीय संसद् अन्तर्गतका दुवै सदनको बैठक आज बस्दैछन् । प्रतिनिधिसभा बैठक बिहान ११ बजे बस्दै छ ।

आजको प्रतिनिधिसभा बैठकमा बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक २०८० का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने, पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले ‘जलश्रोत विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गर्नेछन् ।

त्यस्तै महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साहले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) पहिलो संशोधन विधेयक २०८१ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने र सो विधेयक प्रस्तुत गर्ने,  संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले राष्ट्रियसभामा उत्पत्ति भएको ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने,  उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘निकासी पैठारी (नियमन) विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । 

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक २०७९ माथि छलफलका लागि प्रस्ताव  प्रस्तुत गर्ने र सो प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची समेत रहेको छ ।

त्यस्तै, राष्ट्रियसभा बैठक दिउसो १ः१५ बजे बस्ने छ ।  

राष्ट्रियसभाका लागि आजको कार्यसूची तय नगरिए पनि गत चैत १५ गतेबाट प्रतिपक्षी दलको अवरोधका कारण बैठक कार्यसूचीमा प्रवेश नगरेकोले सोही दिनको कार्यसूची अनुसार अघि बढ्ने जनाइएको छ । 

यसअघि बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त सुशासन प्रबर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो ।