काठमाडौं, चैत १७ :

काठमाडौंको तीनकुनेमा शु्क्रबार भएको राजावादीको प्रदर्शनका क्रममा भएका हिंसात्मक घटनाको सत्यतथ्य छानबिन गरी संलग्नलाई कानुनी दायरामा ल्याउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।

प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आइतबार बिहान सिंहदरबारमा बसेको बैठकले सरकारलाई राजावादीहरुको प्रदर्शनबाट भएका घटनाहरूको सत्यतथ्य छानबिन गरी संलग्नलाई कानुनी दायरामा ल्याउन  निर्देशन दिएको हो ।

समिति सभापति अम्मरबहादुर थापाले घटनामा संलग्नलाई कारबाही गर्न र यस प्रकारका घटना पुनः दोहोरिन नदिन सुरक्षा व्यवस्था चुस्तदुरुस्त राखी तयारी अवस्थामा रहन सरकारलाई निर्देशन दिए ।

त्यस्तै समितिले आन्दोलनका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । घाइतेको उपचारका लागि आवश्यक प्रबन्ध मिलाउन पनि समितिले सरकारलाई निर्देशन दिएको छ ।