काठमाडौं, चैत १८ :

नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले संसदमा प्रधानमन्त्रीले सम्बोधन गर्ने क्रममा भएको विरोध संसदीय मर्यादाविपरीत भएको बताएका छन् । प्रतिनिधिसभाको आजका बैठकमा उनले यस विषयमा प्रतिपक्षी सांसदलाई जिम्मेवार बन्न आग्रह गरे ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनपछि सांसद ज्ञानेन्द्रबहादुर शाहीले आपत्ति जनाउँदै प्रश्न उठाएका थिए । उक्त विषय संसदीय मर्यादाविपरीत भएको महामन्त्री शर्माको भनाइ थियो ।

उनले गत शुक्रबार तीनकुनेमा प्रदर्शनका क्रममा भएको घटनाको निन्दा गर्दै उक्त घटनाका सम्बन्धमा सम्पूर्ण राजनीतिक दलले दुःख व्यक्त गर्दा पूर्वराजाले कुनै चासो नदेखाएको बताए ।

‘सशस्त्र आन्दोलन देशमा हुँदै गर्दा स्वभाविक रुपमा हिंसाका घटना हुन्छन्, नेपाली कांग्रेसले इतिहासको कुनै कालखण्डमा हिंसात्मक सङ्घर्षको नेतृत्व गरेको थियो,’महामन्त्री शर्माले भने, ‘उक्त विषयमा बीपी कोइरालाले अदालतमा बयान दिने क्रममा म प्रत्यक्ष रुपमा सहभागी नभए पछि जिम्मेवारी लिन्छु भन्नुभएको थियो, अहिले तीनकुनेको घटनामा पूर्वराजाले दुःख समेत व्यक्त गरेनन् ।’

महामन्त्री शर्माले राजाले पटक-पटक संविधान र लोकतन्त्रमाथि धावा बोलेपछि नेपाली जनताले गणतन्त्रको विगुल फुकेको बताए । ‘नागरिकमा कैयौँ असन्तुष्टि होलान्, तर त्यसको विकल्प समाधान हो राजा होइन,’उनले भने, ‘उनले गणतन्त्रको विकल्प खोज्ने होइन यसलाई सुधार गरेर अगाडि बढ्नुपर्छ । ’

शर्माले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर सरकारले गल्ती गरेको समेत बताए ।उनले घिसिङलाई बाँकी समय काम गर्न दिनुपर्नेमा सरकारले हटाएर गल्ती गरेको बताएका हुन्।  उनले अदालतमा विचाराधिन विषयमा प्रधानमन्त्री ओलीले सदनमा जवाफ किन दिनुभयो? भन्दै प्रश्न गरे।