
प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजदूत एवम् वरिष्ठ पत्रकार कमल कोइरालाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । नेकपा (एकीकृत समाजवादी)को पार्टी कार्यालय आलोकनगरमा पुगेर प्रधानमन्त्री ओलीले कोइरालाप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् ।
यस्तै, नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले कोइरालाले नेपालको कम्युनिष्ट आन्दोलनमा निर्वाह गरेको भूमिका महत्त्वपूर्ण रहेको बताए । चुनौतीहरूको सामना गरेर अघि बढ्नुपर्ने कुरा कोइरालाबाट सिक्नुपर्ने बताए ।
त्यस्तै, पार्टीका सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल , उपाध्यक्ष पम्फा भुसाल, महासचिव देव गुरुङ, नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजाल, पूर्वराजदूत टङ्क कार्की, त्रिभुवन विश्वविद्यालय, केन्द्रीय पत्रकारिता विभाग प्रमुख डा. जगत नेपाललगायत नेताहरुले श्रद्धाञ्जली दिए ।यसैगरी, श्रद्धाञ्जली अर्पण गर्न पार्टी केन्द्रीय कार्यालयमा नेकपा एसका नेता/कार्यकर्ताहरूको भिड लागेको छ ।
उनी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को पोलिटब्यूरो सदस्यसमेत थिए । पत्रकार, लेखक तथा कुटनीतिज्ञ समेत रहेका कोइरालाको ८७ वर्षको उमेरमा आइतबार राति उपचारकै क्रममा निधन भएको थियो । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ ।