काठमाडौं, चैत १८ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले लुटतन्त्रलाई टुलुटुलु हेरेर नबस्ने बताएका छन् । पार्टी कार्यालय चमतिमा उपस्थित शुभेच्छुक एवं कार्यकर्तालाई सोमबार सम्बोधन गर्दै लामिछानेले  आफू जनुसुकै शक्तिसँग पनि लड्न तयार रहेको बताए ।

सरकारले जनताको आक्रोशलाई नजरअन्दाज गर्ने कोसिस गरिरहेको भन्दै उनले अझै मुद्दा लगाउनु छ भने लगाउन सरकारलाई चुनौती पनि दिए । उनले भने, ‘दुईतिहाइको सरकारले मलाई जिउँदो छोडेको छ यही मेरो जित हो ।’

जनताका रहेको आक्रोश, असन्तुष्टिलाई सम्बोधन गर्न शान्तिपूर्ण अभियानका लागि तयार हुन पार्टीपक्तिलाई लामिछानेले आह्वान गरे ।

‘जनतामा रहेको आक्रोशलाई सम्बोधन गर्न हामी तयार हुनुपर्छ,’ उनले भने, ‘कसैलाई गाली गरेर, होच्याएर केही हुनेवाला छैन, शान्तिपूर्ण अभियान मर्न दिनु हुँदैन । ’

सहकारी ठगी प्रकरणमा आफूविरुद्ध अदालतमा मुद्दा दायर हुनुअघि लामिछानेले पार्टीका गतिविधिबाट अलग भएका थिए ।

करिब पाँच महिनापछि लामिछाने सभापतिको नेतृत्वमा फर्किएका छन् । यद्यपि सहकारी प्रकरणसम्बन्धी उनको मुद्दा भने टुंगिसकेका छैनन् । त्यसयता डोलप्रसाद अर्यालले कार्यवाहक सभापतिको जिम्मेवारी सम्हाल्दै आएका थिए ।