काठमाडौँ, चैत १९ :

मुलुकमा शान्ति स्थापना होस् भन्ने कामनाका साथ पशुपति क्षेत्रमा गरिएको देशोद्वार पूजासहितको वत्सलेश्वरी जात्रा समापन भएको छ । 
 
आर्यघाट जाने बाटोस्थित वत्सलेश्वरी मन्दिर परिसरबाट यही चैत ९ गते शनिबार चैत्र कृष्ण अष्टमीदेखि सुरु भएको जात्रा पशुपति क्षेत्रका सबै टोलमा घुमाइएको छ । 

पशुपति क्षेत्रभर घुमाएपछि सोमबार राति जात्रा सकिएको पशुपति क्षेत्र विकास कोष अमालकोट कचहरीका द्वारे रामकृष्ण डङ्गोलले जानकारी दिए । 

चैत्र कृष्ण अष्टमीका दिन चैत ९ गते शनिबार पशुपतिका भट्टले जात्रामा उपत्यकाका मुख्य देवदेवी एवं स्थानीयवासीलाई जात्रा हेर्न आउनु भनी निमन्त्रणा गरेका थिए । यात्रामा यसरी निमन्त्रणा दिने लिच्छविकालदेखिको परम्परा रहेको डङ्गोलले बताए । उनका अनुसार उपत्यकाका देवदेवीलाई निमन्त्रणा गरेपछि देशोद्वार पूजासमेत भनिने यो जात्रा सुरु भएको हो ।
 
जात्राअघि बज्रेश्वरी, वत्सलेश्वरी, आकाशभैरव, पशुपति क्षेत्रका नौ शक्तिपीठलगायत स्थानमा देशोद्वार पूजा सम्पन्न गरिएको हो । चैत्र शुक्ल द्वितीयाका दिन सोमबार राति सिन्दुर जात्रा गरी वत्सलेश्वरी जात्रा समापन गरिएको छ । एघार दिनसम्म सञ्चालन भएको यो जात्रा पशुपति क्षेत्रका लामो जात्रामध्येको एक मानिन्छ ।
 
मुलुकमा शान्ति कायम होस् भन्ने कामनाले पूजा एवं जात्रा गरिएकाले दूध खाने बालक पनि यो जात्रा हेर्न आउँछन् भन्ने विश्वास पशुपति क्षेत्रमा गरिन्छ । 

देशोद्वार पूजा र जात्रामा चार थरका मानिस प्रत्यक्ष रूपमा संलग्न हुने गरेका छन् । उपाध्याय, वैद्य, डङ्गोल र सङ्गत गरी चार थर प्रत्यक्ष रूपमा सहभागी हुने गरेको डङ्गोलले बताए ।