पाल्पा, चैत १९ :

आलु भण्डारणका लागि गाउँमा शीतभण्डार अभावमा खेमराज रानाले भैरहवामा लैजाने गर्दथे । हिजोआज भने उनलाई आलु शीतभण्डारमा राख्न भैरहवा पुर्याउनुपरेको छैन । 

रामपुर नगरपालिका- २ भलायटार बस्ने रानाले गाउँमै शीतभण्डार केन्द्र प्रयोगमा आएपछि धेरै सजिलो भएको बताए । रामपुरशित भण्डारमा उनले माथिल्लो कृषक तरकारी समूहबाट ५० बोरा आलु ल्याएर राखेका छन् । सोमबारदेखि रामपुर नगरपालिकाले सूचना जारी गरेर शीतभण्डारमा किसानलाई आलु भण्डारण गर्न आह्वान गरी सुरु गरिएको हो । गत वर्ष पनि रानाले समूहमार्फत ५० बोरा आलु राखेका थिए ।

अघिल्लो वर्ष रामपुर शीतभण्डारमा राखेको राखेको आलु राम्रो भएपछि यो वर्ष पनि ल्याएर राखेका उनले बताए । गाउँघरमा नै चिस्यान केन्द्रमा राख्ने सुविधा भएपछि धेरै सजिलो किसान बताउँछन् ।

आफ्नै ठाउँमा शीतभण्डार हुँदा आलु सुरक्षितसाथ राख्न ढुक्क हुने गरेको रामपुर–६ का ७४ वर्षीय लेखनाथ पोखरेल बताए । शीतभण्डारको सुविधाले पछिल्ला वर्ष उत्पादन बढाउँदै गएको पनि उनले बताए ।