काठमाडौं, चैत १९ :

प्रधानमन्त्री केपी ओली थाइल्यान्डको औपचारिक भ्रमण र बिमस्टेकको छैटौं शिखर सम्मेलनमा सहभागी हुन थाइल्यान्ड प्रस्थान गरेपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई दिइएको छ ।

मन्त्रिपरिषद्‌मा सिंह दोस्रो वरीयतामा भएकाले राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीमा सिंहलाई तोकेका हुन् ।

प्रधानमन्त्री ओली थाइल्यान्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्सटेक) मा सहभागी हुन आज (मंगबलार) त्यसतर्फ प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री ओलीको अनुपस्‍थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधानबमोजिम उपप्रधानमन्त्री सिंहलाई कार्यवाहक तोकिएको राष्‍ट्रपति कार्यालयले जनाएको छ ।

‘राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिसमा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरी तोक्नु भएको छ,’ राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।