
नेपाली मुवाँथाई खेलाडी गुणराज रुचालले अस्ट्रेलियाको पर्थस्थित लिजेन्ड्स एकेडेमीमा प्रशिक्षणको अवसर पाएका छन् । त्यसका लागि उनी मंगलबार अस्ट्रेलिया प्रस्थान गरेका छन् ।
‘खेलाडीका रुपमा मैले थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेले । पदक पनि जिते । अब प्रशिक्षकका रुपमा नयाँ अध्याय सुरु गर्दै छु । त्यो पनि विदेशी भूमिमा । मलाई यो अवसर प्रदान गर्नु भएकोमा एकेडेमीका प्रबन्ध निर्देशक डेनियल डसनलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु,’ अस्ट्रेलिया उड्नुअघि गुणराजले भने, ‘उहाँ (डेनियल) ४ पटकका मुवाँथाई च्याम्पियन, ३ पटकका किक बक्सिङ च्याम्पियन र १ पटकका बक्सिङ च्याम्पियन हुनुहुन्छ । उहाँजस्तो मार्सल आर्ट्स क्षेत्रका दिग्गज व्यक्तित्वसँग काम गर्ने अवसर पाएकामा भाग्यमानी ठानेको छु ।’
गत भदौमा पनि गुणराज केही समय लिजेन्ड्स एकेडेमीसँग जोडिएका थिए । त्यसबेला उनले लिजेन्ड्समै विशेष प्रशिक्षण लिएका थिए । गुणराजले करिब १२ वर्ष ६ महिना अवधि सेनामा रहेर हालै उपदानमा राजीनामा दिएका थिए ।
करिब एक दशकको मुवाँथाई यात्रामा ३२ वर्षीय गुणराजको मुख्य उपलब्धि भनेको १ वर्षअघि बैंककमै भएको १९औं विश्व मुवाँथाई च्याम्पियनसिपमा जितेको स्वर्ण हो । उनले सेमी प्रोको पुरुष ५४ केजीमा स्वर्ण जितेका थिए । त्यो स्वर्ण नेपाली मुवाँथाईको इतिहासमा कुनै पनि खेलाडीले सेमी प्रोमा जितेको एक मात्र स्वर्ण हो ।
१९औं संस्करणअघि गुणराजले १७औं र १८औं संस्करणको विश्व च्याम्पियनसिपमा कास्य जितेका थिए । उनी १३औं र १५औं संस्करणको विश्व च्याम्पियनसिपमा पनि सहभागी भएका थिए । यी सबै विश्व च्याम्पियनसिप थाइल्यान्डमा भएको थियो ।
गुणराज विभिन्न समयमा भएका नेपाल मुवाँथाई च्याम्पियनसिप, टप ५ मुवाँथाई प्रो फाइट, तेस्रो, चौथो र आठौं संस्करणको इन्डो-नेपाल मुवाँथाई च्याम्पियनसिप र तेस्रो केब्याग अन्तर्राष्ट्रिय मुवाँथाई च्याम्पियनसिपका स्वर्ण विजेता हुन् । पाँचै प्रतियोगिता नेपालमा भएका थिए ।
उनी थाइल्यान्डमै भएको प्रोफेसनल मुवाँथाई फाइट र फेयरटेक्स प्रोफेसनल फाइटका विजेता हुन् । उनले २०१६, २०१८ र २०२२ को वर्ष उत्कृष्ट मुवाँथाई खेलाडीको अवार्ड जितेका छन् । उनले कम्बोडियामा भएको दोश्रो विश्व कुन्खेमरमा पनि नेपालको चुनौती प्रस्तुत गरेका थिए ।