काठमाडौं, चैत २० :

राज्य व्यवस्था समितिका सांसदहरुले  चैत १५ गते तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनका सम्बन्धमा गृहमन्त्रीको जवाफ मागेका छन् ।

समितिको आजको बैठकमा सत्तापक्षका सांसदहरुले समेत त्यस किसिमको माग गरेपछि समितिले चैत २२ गते शुक्रबार ११ बजे गृहमन्त्री रमेश लेखकलाई बैठकमा बोलाउने निर्णय गरेको समिति सभापति रामहरि खतिवडाले जानकारी दिए ।

कांग्रेसका सांसद विश्वप्रकाश शर्माले तीनकुने घटनाबारे सरकारको धारणा सार्वजनिक हुनुपर्ने बताए । साथै उनले चार हजार भीड रोक्ने क्षमता पनि राज्यसँग नभएको हो ? भनी प्रश्न गरे ।

कांग्रेसका सांसद हृदयराम थानीले प्रधानमन्त्री देश बाहिर भएकोले सरकारको तर्फबाट गृहमन्त्री लेखकले बैठकमा जवाफ दिनुपर्ने बताएका हुन् ।

यस्तै, कांग्रेसकै सांसद सरिता प्रसाईंले पनि घटनाबारे गृहमन्त्रीले समिति बैठकमा जवाफ दिनुपर्ने बताइन् ।

त्यस्तै, राप्रपाका सांसद बुद्धिमान तामाङले पनि समितिमा गृहमन्त्रीले जवाफ दिनुपर्ने भन्दै घटनाका सम्बन्धमा न्यायिक छानबिन हुनुपर्ने उनको माग गरे ।

उनले आफ्ना पार्टीका वरिष्ठ उपाध्यक्ष र महामन्त्री थुनामा रहेको भन्दै असन्तुष्टि जनाए ।  सभा गर्दै गरेका व्यक्तिहरुलाई दोषीको शैलीमा पक्राउ गर्न उचित नहुने उल्लेख गर्दै तामाङले तत्काल रिहाईको माग गरे ।

गत चैत १५ गते काठमाडौँको तीनकुनेमा राजावादीको हिंसात्मक प्रदर्शनमा एक पत्रकारसहित दुई जनाको मृत्यु भएको थियो। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। उनीहरुको सरकारले निःशुल्क उपचारको व्यवस्था मिलाएको छ ।