काठमाडौं, चैत २० :

गत शुक्रबार काठमाडौंको तीनकुनेमा भएको राजावादी समूहको हिंसात्मक प्रदर्शनमा २० जनालाई गोली लागेको पुष्टि भएको छ । प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले ५८ राउन्ड गोली प्रहार गरेको थियो । गोली लाग्नेमा दुई महिला र १८ जना पुरुष छन्। घाइतेमध्ये १३ जनाको उपचार अहिले विभिन्न अस्पतालमा भइरहेको जनाइएको छ।

काठमाडौंमा बुधबार आयोजित पत्रकार सम्मेलनमा नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी दिनेश आचार्यले अराजक भिडलाई नियन्त्रणमा लिन गोली चलाउनुपरेको बताए ।  आचार्यका अनुसार, गोली लागेकामध्ये सविन महर्जनको मृत्यु भएको छ भने कोटेश्वरस्थित शंकर मार्गमा रेविका र दिनेश खत्री घाइते भएका छन्।

प्रदर्शनकारीहरूले संसद् भवनतर्फ बढ्न खोजेपछि प्रहरीले गोली चलाएको उनले बताए । प्रहरीले ७४६ राउन्ड अश्रुग्यास र १९२ राउन्ड ब्ल्याङ्क फायरसमेत गरेको छ।

प्रहरीका अनुसार, प्रदर्शनकारीहरूको भीडले निषेधित क्षेत्र तोड्न थालेपछि सुरुमा अश्रुग्यास प्रहार गरिएको थियो। घटनामा तीनकुनेको मञ्चबाट प्रदर्शनकारीहरूले तोडफोड र आगजनीको कार्य गरेका थिए। प्रहरीले पानीको फोहरा प्रहार गर्दै प्रदर्शनकारहरूलाई तितरबितर गरेको थियो। प्रहरीले हिंसात्मक गतिविधिमा संलग्न भएका व्यक्तिहरूको पहिचान गरी कारवाही प्रक्रिया अघि बढाएको जानकारी दिएको छ।

प्रदर्शनका कमान्डर दुर्गा प्रसाईंको खोजी जारी रहेको र उनीहरूसँग सम्बन्धित अन्य प्रदर्शनकारीहरूको पहिचान गरेर नियन्त्रणमा लिने प्रक्रिया चलिरहेको प्रहरीले जनाएको छ।