काठमाडौं, चैत २० :

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा थप ६ दिन हिरासतमा बस्नुपर्ने भएको छ ।

चैत १५ गते राजसंस्था पक्षधरले गरेको प्रदर्शनमा हिंसात्मक गतिविधि गरेको भन्दै पक्राउ परेका दुवै जनामाथि दोस्रो पटक म्याद थप भएको हो। थप अनुसन्धान गर्नुपर्ने माग गर्दै काठमाडौँ प्रहरी परिसरले बुधबार जिल्ला अदालत काठमाडौँमा म्याद थपका लागि उपस्थित गराएको थियो।

उनीहरूमाथि अनुसन्धान गर्न चैत १७ गते पहिलो पटक पाँच दिन म्याद थप भएको थियो। पक्राउ परेकाहरुमाथि आपराधिक गतिविधि र संगठित अपराधमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। तीनकुने घटनामा एक पत्रकारसहित दुई जनाको मृत्यु भएको थियो।