
काठमाडौं उपत्यकाको वायु प्रदूषण झन् झन् बढ्न थालेपछि वातावरणसँग सम्बन्धित पक्षका विज्ञहरुले समयमै रोकथामका लागि उपाय अपनाउनु सुझाएका छन् ।
कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सहरी विकास मन्त्रालयमा बढ्दो वायु प्रदूषणको विषयमा आज (बिहीबार) गरिएको छलफलमा सम्बन्धित क्षेत्रका प्रतिनिधिहरुले यस्तो सुझाव दिएका हुन् ।
छलफलमा वन मन्त्रालयका सचिव दीपक खरालले प्रदूषण बढ्दै गएकाले साताको दुई दिन बिदा दिनुपर्ने वा सवारीसाधन जोरबिजोर गरेर चलाउनु पर्नेसम्मको प्रस्ताव गरे । प्रदूषणको प्रमुख कारण सवारीसाधन रहेको दाबी गर्दै विज्ञहरुले केहिदिन चाप कम गर्नुपर्ने सुझाए ।
राष्ट्रिय यातायात व्यवसायी महासंघले भने प्रदूषण बढ्नुमा निजी मोटर र मोटरसाइकललाई दोष देखाउँछ । त्यसलाई कम गरेर सार्वजनिक सवारीसाधनलाई प्राथामिकता दिनुपर्ने महासंघका प्रतिनिधिको जोड छ ।
निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले वायु प्रदूषण हुनुमा सरकारले निर्माण व्यवसायीलाई मात्र दोष दिएर पन्छिन नमिल्ने बताए ।
डढेलोविज्ञ सुन्दर शर्माले वातावरण संरक्षणका लागि राष्ट्रिय रणनीति बनाउनुपर्ने सुझाव दिए ।
सबैको सुझाव सुनेपछि कार्यवाहक प्रधानमन्त्री सिंहले वायु प्रदूषणका कारण जनजीवन प्रभावित हुँदै गएकोमा चिन्ता व्यक्त गरे । अहिले प्रदूषण बढ्नुको मुख्य कारण डढेले रहेको भन्दै उनले छिटै सरकारले यस विषयमा निर्णय लिने बताए ।
छलफललमा वनमन्त्री ऐनबहादुर शाही, वनराज्यमन्त्री रुपा विकलगायतका मन्त्रालय र विभागका कर्मचारी उपस्थित थियो ।