दाङ, चैत २२ :

तुलसीपुरस्थित टरिगाउँ विमानस्थलमा बिहीबार एक जना पनि यात्रु नपाएपछि जहाज सेवा अवरुद्ध भएको छ ।

गत सोमबारदेखि हवाई सेवा सुरु भएको थियो । बिहीबार पनि जहाज आउने तालिका थियो । तर, तुलसीपुरबाट एक जना पनि यात्रुले टिकट काटेका थिएनन् ।

काठमाडौँबाट पनि तीन जनाले मात्र टिकेट काटेका थिए । यात्रु नभएपछि बिहीबारको उडान अवरुद्ध भएको एयरलाइन्सका स्टेसन इन्चार्ज बलबहादुर सुनारले जानकारी दिए । तीन महिना सेवा अवरुद्ध भएपछि सोमबारदेखि सेवा सुरु भएको हो । हालको भाडा न्यूनतम सात हजार एक सय मात्र कायम गरिएको छ । नियमित भाडा आठ हजार ७७५ भए पनि हाललाई सात हजार एक सय मात्र कायम गरिएको छ ।

टरिगाउँमा नियमित हवाई सेवा नहुँदा यात्रुहरू नेपालगन्ज वा भैरहवा जानुपर्ने अवस्था छ । विमानस्थलको धावनमार्ग पनि सानो हुँदा ठूला जहाज बस्न सकेको छैनन् । अहिले १९ सिटे जहाज मात्र बस्दा पनि अनियमित हुने हुँदा यात्रुहरू भैरहवा वा नेपालगञ्ज जानुपर्ने अवस्था छ ।