काठमाडौँ, चैत २२ :

चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रमा सुधार आउने विश्व बैङ्कले प्रक्षेपण गरेको छ । 

बिहीबार नेपाल विकास प्रतिवेदन सार्वजनिक गर्दै विश्व बैङ्कले आन्तरिक व्यापार, जलविद्युत् तथा धान उत्पादनको वृद्धिले अर्थतन्त्रको सुधारमा सहयोग पुग्ने उल्लेख गरेको हो । 

विश्व बैङ्कका अनुसार चालु आवमा नेपालको अर्थतन्त्र ४. ५ प्रतिशतले वृद्धि हुने छ । गत आव यस्तो वृद्धिदर ३.९ प्रतिशत थियो । चालु आवमा देखिएको सुधारले आगामी दुई वर्षसम्म पनि निरन्तरता पाउने विश्व बैङ्कले जनाएको छ । जस अनुसार आगामी दुई आवमा नेपालले औसत ५.४ को वृद्धिदर हासिल गर्ने छ । 

प्रतिवेदनले नेपालको अर्थतन्त्रका सम्भावित जोखिमलाई पनि उल्लेख गरेको छ । जस अन्तर्गत भूराजनीतिक र व्यापारसम्बन्धी अनिश्चितता समावेश गरिएको छ । यसले गर्दा नेपालको वित्तीय क्षेत्रमा ऋणको गुणस्तरमा थप गिरावट आउन सक्ने विश्व बैङ्कको अनुमान छ । त्यस्तै सरकारले बारम्बार कर्मचारीको सरुवा गरेका कारण पुँजीगत बजेट कार्यान्वयनमा हुने ढिलाइलाई पनि विश्व बैङ्कले उल्लेख गरेको छ । 

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा शिवराज अधिकारीले १६ औँ योजनाको लक्ष्य हासिल गर्न आर्थिक वृद्धिलाई थप मजबुत बनाउनुपर्ने भएकाले प्रभावकारी पुँजीगत बजेट कार्यान्वयन एवं चालु परियोजना समयमै सम्पन्न गर्न आवश्यक रहेकोमा जोड दिए ।

अर्थतन्त्रलाई गति दिन आवश्यक रोजगारी सिर्जना गर्न निजी क्षेत्रले अगुवाइ गरेको आर्थिक वृद्धिलाई बढावा दिनु अत्यावश्यक भइसकेको विश्व बैङ्कका नेपाल, माल्दिभ्स र श्रीलङ्काका लागि राष्ट्रिय विभागीय निर्देशक डेभिड सिसलेनले बताए ।