डोटी, चैत २५ :

डोटीमा मिनी ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । 

सोमबार साढे १२ बजेको आसपासमा बडीकेदार गाउँपालिका- ३ देउथानमा मिनी ट्रक दुर्घटना भएको प्रहरीले जनाएको छ । 

जनजागरण सामुदायिक वनमा सडेगलेका काठ सङ्कलन गरी नजिकै सेलानेको खोलामा घाटमा गद्दी (जम्मा) गर्न लैजाँदै गरेको बा.प्र. ०३००१ ख २५३ नम्बरको मिनी ट्रक दुर्घटनामा परेको हो । 

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक विनोद शर्माका अनुसार सवारी अनियन्त्रित भएर सडक किनारामा पल्टिँदा ट्रकमा सवार बडिकेदार गाउँपालिका- ३ देवलका २७ वर्षीय सन्तोष गुरुङको मृत्यु भएको हो । 

गुरुङको ट्रकमा रहेका काठले च्यापिएर घटनास्थलमा नै मृत्यु भएको र सोही ट्रकमा सवार रहेका सामुदायिक वनका अध्यक्ष लोकबहादुर पल्ली मगर घाइते भएको प्रहरीले जनाएको छ । घाइतेको स्थानीय स्वास्थ्यचौकी मूलीचौरमा उपचार भइरहेको र अवस्था मध्यम रहेको बडीकेदार गाउँपालिका- ३ का वडा सदस्य प्रकाश लामाले जानकारी दिए । 

ट्रक चालक बडिकेदार गाउँपालिका- २ बर्छैनका २९ वर्षीय गोपाल बडेलाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।