
सभामुख देवराज घिमिरेले बान्डुङ सिद्धान्तहरूप्रति नेपालको प्रतिबद्धता दोहोर्याएका छन् । उज्बेकिस्तानको तासकन्दमा आयोजित असंलग्न आन्दोलन संसदीय सञ्जालको चौथो सम्मेलनलाई सोमबार साँझ सम्बोधन गर्दै उनले नेपालले विश्व शान्ति, समानता र न्यायको पक्षमा सधैं अग्रसर भूमिका निर्वाह गर्दै आएको उल्लेख गरे ।
सभामुखले ७० वर्षअघि बान्डुङमा प्रारम्भ भएको भावनाले नेपालजस्तो शान्तिप्रेमी राष्ट्रलाई प्रेरणा दिँदै आएको बताए । उनले भने, ‘नेपाल असंलग्न आन्दोलनको संस्थापक सदस्य राष्ट्रको हैसियतले सबै राष्ट्रबीच शान्तिपूर्ण सह-अस्तित्व र परस्पर सम्मानमा विश्वास राख्छ ।’
सभामुख घिमिरेले गौतम बुद्धको जन्मभूमि नेपालले ‘वसुधैव कुटुम्बकम्’ को दर्शनलाई आत्मसात् गर्दै आएको उल्लेख गर्दै बान्डुङ भावना आजको असमान विश्वलाई न्यायसंगत बनाउने मूल प्रेरणा बन्न सक्ने धारणा राखे ।
घिमिरेले जलवायु परिवर्तन, डिजिटल पहुँचको असमानता र आर्थिक विषमताजस्ता समसामयिक चुनौतीहरूको सामूहिक समाधानमा संसदहरूको भूमिका निर्णायक हुने स्पष्ट पारे । नेपालजस्तो हिमाली राष्ट्रका लागि जलवायु न्याय अनिवार्य आवश्यकतामध्ये एक भएको उल्लेख गर्दै उनले अन्तर्राष्ट्रिय साझेदारीमा सन्तुलन कायम गर्न संसदहरूले सक्रियता देखाउनुपर्नेमा जोड दिए ।
सभामुख घिमिरेले नेपालको संविधानमै असंलग्नता र शान्तिपूर्ण मार्गको सुनिश्चितता गरिएको उल्लेख गर्दै आन्तरिक द्वन्द्वबाट लोकतान्त्रिक रूपान्तरणमा नेपालले देखाएको अभ्यास उदाहरणीय रहेको बताए । संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा नेपालको अग्रणी भूमिका बान्डुङ भावनाको जीवन्त अभिव्यक्ति भएको उनको भनाइ छ ।
सभामुख घिमिरेले लोकतन्त्र, शान्ति र समानताका साझा मूल्यलाई संसद्मार्फत सुदृढ गर्दै न्यायपूर्ण र समृद्ध विश्व निर्माणमा एकजुट हुन आह्वानसमेत गरे ।