
भक्तपुरको प्रसिद्ध बिस्का जात्रा आजदेखि सुरु भएको छ । भक्तपुर नगरबासीले आज बिहानै दत्तात्रयबाट र्याली सुरु गरेर जात्राको विधिवत सुरु गरेका हुन् ।
प्रसिद्ध पाँचतले मन्दिर टौमढी अगाडि भैरवनाथको रथ आज दिउँसो तान्ने चलन रहेको छ । नयाँ वर्ष आगमनको तीन दिन अगाडि यो वर्ष चैत २८ गते बिहिबारदेखि प्यागोडा शैलीमा बनाइएको तीनतल्ले काठको ३० फिट अग्लो भैरवनाथको रथलाई दुवैतिर डोरीले तान्ने गरिन्छ । रथको दुईतीर मोटोमोटो डोरी राखेर हजारौं युवाले रथ तान्ने गर्दछन् ।
आज जात्राको पहिलो दिन नेपाल भाषामा द्यो क्वह विज्याइज्यू अर्थात देवता रथ तल सवारी हुने भनिन्छ । जात्राको पहिलो दिन रथलाई नगरको तल्लो साइटको टोलतिर लाने भएकोले सो साइटमा ६ वटा र अर्को साइटमा चार वटा मात्रै डोरी राखिने गरिन्छ । तर दुवैतिर प्रतिस्पर्धात्मक रुपमा तानेर पछिल्लो वर्ष जता पनि लैजाने गर्दछन् ।
जात्रालाई हर्षोलासमय रुपमा मनाउन गुठी संस्थान र भक्तपुर नगरपालिकाले सबैमा अनुरोध गरेको छ ।
विस्केट जात्रा पूर्वमध्यकालतिर तीनसय वर्ष भन्दा पहिलेदेखी राष्ट्रिय पर्वकै रूपमा रहेपनि वि.सं.१८२६ मा मल्लकालीन भक्तपुर राज्यको पतनपछि भक्तपुरले आफनो केन्द्रीय राजनैतिक- प्रशासनिक महत्व गुमाउँदै गएपछि यो एक जिल्लाको स्थानीय जात्राका रूपमा मात्र सीमित रहन पुगेको संस्कृतिविद् बताउँछन् ।
जात्रा हेर्न भक्तपुरसहित काठमाडौं, ललितपुर, काभ्रेपलान्चोकलगायत देशका विभिन्न भागबाट हजारौं मानिसहरु भक्तपुर आउने गर्दछन् । भैरवनाथको रथ तानेर सुरु हुने जात्रा प्रत्येक वर्ष वैशाख ५ गते पाँचतल्ले मन्दिर अगाडि नै रहेको भैरबनाथको रथलाई तानेर सम्पन्न हुने गर्दछ ।
विस्केट जात्राको मुख्य आकर्षण ५५ हात लामो लिंगो उठाउनु, ढाल्नु र रथ तान्नु रहेको छ । जात्राको चौथो दिन ल्योसिङख्योमा तान्त्रिक रुपमा ५५ हाते लिङ्गो उभ्याएर वीरध्वज र विश्वध्वज झुण्डयाउने परम्परा रहेको छ ।
तान्त्रिकपूजा गरेर तलेजुमा दुमाजु, बाराहीको तिंप्वा जात्रा र खौमाको इन्द्रयाणी देवीको जात्रा समेत गर्ने परम्पररा छ । बिस्केट जात्रालाई स्थानीय भाषामा बिस्का भनिने चलन छ । नगरको केन्द्र भाग पाँचतले मन्दिर प्रांगण अहिले मानिसको भिडभाड बढेको छ ।
रथलाई स्थानीय गःहिटी टोलमा पुर्याएपछि पहिलो दिनको जात्रा सम्पन हुने परम्परा छ ।
नव वर्षको आगमनसँगै सुरु हुने ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको बिस्का जात्रालाई भव्य र सभ्यरुपमा मनाउन जिल्ला प्रहरी परिसर भक्तपुरले सबैमा आग्रह गरेको छ ।