हेटौँडा, चैत २८ :

धरान- चतरा सडक खण्डको बकैया गाउँपालिका- ३ चिसापानी बजारमा बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् ।

सिन्धुलीबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०६- ००१ ख ०२७० नम्बरको रिजर्भ बस घुम्तीमा एक्कासि पल्टिँदा बसमा सवार ३० जना यात्रु घाइते भएका हुन् । बसमा भिमफेदी गाउँपालिका कृषि तथा पशु शाखा भिमफेदीका अगुवा कृषक भ्रमण गएर फर्कँदै थिए ।

घाइतेहरुलाई प्रहरी र स्थानीयवासीले राति नै उद्धार गरेर १६ जना घाइतेलाई हेटौँडा लगिएको थियो । बाँकी १४ जना घाइतेलाई बकैयास्थित स्वास्थ्य केन्द्रमा उपचार गराउन राखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए ।

हेटौँडा ल्याइएकामध्ये चार जना घाइतेलाई थप उपचारका निम्ति चितवन लगिएको छ । हेटौँडा अस्पताल र हेटौँडास्थित सहकारी अस्पतालमा ८ जनाकाे उपचार भइरहेको छ । चार जना सामान्य उपचारपश्चात घर फर्किसकेका छन् ।

बकैयास्थित स्वास्थ्य चौकीमा उपचार गराइरहेका घाइतेहरुको अवस्था पनि सामान्य रहेको प्रहरीले जनाएको छ ।