आठ रात नौ दिनसम्म भव्य रूपमा मनाइने भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको बिस्काः अर्थात् बिस्केट जात्रा आजबाट सुरु भएको छ । तौमढीस्थित भैरवको रथमा पूजा गर्न बिहानैदेखि स्थानीयको भीड लागेको छ ।
आज बिहान सर्वसाधारणका लागि भैरवको रथमा पूजा खुला गरेर जात्राको शुभारम्भ भएको गुठी संस्थान कार्यालय भक्तपुरकी प्रमुख खिमा वलीले जानकारी दिए ।
‘आज बिहानैदेखि नित्य पूजा सुरु गरेपछि सर्वसाधारणको पूजा सुरु भइसकेको छ, दिउँसो १ बजेसम्म गुठी संस्थानको प्रमुख र सिकर्मी नाइकेले सरकारी पूजा गरेर त्यसपछि अन्य समुदायको पूजा सकेर भैरवको रथ तान्न सुरु गरिने छ,’उनले भने, ‘यस वर्ष छिट्टै रथ तानेर गहिटी पुर्याउने लक्ष्य राखेका छौँ ।’
तान्त्रिक विधिपूर्वक गुठी कार्यालयले ल्याएको सरकारी पूजा गर्दै भैरवको रथमा भैरवनाथ र बेताल बिराजमान गराई हनुमान ढोकाबाट राजाको प्रतीकस्वरुप ल्याइएको खड्ग, तरबार र निशान राखेपछि विधिपूर्वक रथ तानेर जात्रा सुरु भएको थियो ।
विगतका वर्षहरूमा अपराह्न ५:०० बजेपछि रथ तान्न सुरु गरी राति अबेरसम्म तौमढीबाट रथलाई माथि र तल तानेर गःहिटी पुर्याउने प्रचलन भए पनि यस वर्ष भने भैरवनाथको रथ अपराह्न ५:०० बजेसम्म गःहिटीमा पुर्याई पहिलो दिनको जात्रा सम्पन्न गर्ने तयारी गरिएको उनले बताए ।
आजको जात्रा सम्पन्न भएपछि चैत ३१ गते ल्यासिंखेलमा गुठी पूजासहित सबै प्रक्रिया पूरा गरी अपराह्न ५:०० बजे लिङ्गो उठाइने जात्रा हुनेछ । वैशाख १ गते अपराह्न ५:०० बजेभित्र लिङ्गो ढाल्ने र वैशाख ५ गते पनि अपराह्न ५:०० बजेसम्म रथ तानेर जात्रा सम्पन्न गर्ने तयारी गरिएको छ ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले बिस्केट जात्रामा हुलदङ्गा हुन नदिन र शान्तिपूर्ण रूपमा जात्रा सम्पन्न गराउन सुरक्षा व्यवस्था कडा पारिएको बताए ।
‘जात्राको रथ साँझ ६:०० बजेसम्म सम्पन्न गर्ने तयारी गरेका छौँ, जात्रामा सिसी क्यामेराबाट प्रहरीले हेरिरहेको हुन्छ, सादा पोशाकका सुरक्षाकर्मीले पनि मोबाइलबाट फोटो र भिडियो खिचेर अनुगमन गरिरहेको हुन्छ, स्थानीयको जात्रा भएकाले जात्रामा अवरोध नगर्ने गरी सुरक्षाकर्मी पछाडि बस्छ,’ उनले भने, ‘ हुलदङ्गा भयो भने र आवश्यकता हेरेर सुरक्षाकर्मी अगाडि जाने व्यवस्था गरेका छौँ ।’
उनले नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, नेपाली सेनासहितको सुरक्षा टोली आवश्यकताअनुसार खटिने गरी सुरक्षा व्यवस्था तयारी अवस्थामा राखेको बताए ।
प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक माधव बुढाथोकीले जात्राका लागि काठमाडौँबाट समेत थप प्रहरी थप गरिएको बताए । जात्राका लागि करिब ८०० सुरक्षाकर्मी परिचालन गरिएको छ ।