पर्सा, चैत ३० :

वीरगञ्जमा नेपाली नयाँ वर्षको अवसरमा ‘रात्रि बजार’ सञ्चालनमा ल्याइएको छ । 

शुक्रबारदेखि सुरू भएको रात्रि बजार चैत ३१ गतेसम्म वीरगञ्जको आर्दशनगरस्थित पुरानो बसपार्कमा सञ्चालन हुनेछ ।

वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले विगतमा वर्षमा जस्तै यस वर्ष पनि वीरगञ्जको अर्थतन्त्र र बजारलाई चलायमान गराउनको लागि रात्रि बजार आयोजना गरेको  बताए । वीरगञ्जवासी तथा सीमावर्ती सहर रक्सौलवासीलाई रात्रिबजारमा सहभागी हुनका लागि उनले अनुरोध समेत गरेका छन् ।

यसअघि पनि महानगरले रात्रिबजार सञ्चालन गर्दै आइरहेको छ । रात्रि बजारमा खानाका विशेष परिकार, लत्ताकपडा, कस्मेटिक, भाडाँकुडालगायत सरसामानका स्टल राखिनेछ । त्यसको साथसाथै स्थानीय कलाकारको साङ्गितिक प्रस्तुतिसमेत रहने आयोजकले जनाएको छ । 

महानगरले रात्रिबजार सञ्चालनका लागि विभिन्न सङ्घ संस्थासँग सहकार्य गरेको जनाएको छ । ग्रीन सिटी सामुदायिक सेवा प्रहरी केन्द्र, एनवाइईएफ, वीरगञ्ज साइकलिङ क्लब, ओमेन्स क्रिएसन र फोरजीआरसँगको समन्वयमा महानगरले रात्रिबजार लगाएको हो ।