
फाइल तस्बिर।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले दायर गरेको निवेदनमा सुनुवाइ सकिएको छ । सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा आइतबार भएको सुनुवाइ सकिएको हो ।
सहकारी ठगी प्रकरणमा हाल भैरहवा कारागारमा रहेका लामिछाने आफूलाई थुना बाहिर राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग राख्दै सर्वोच्चमा निवेदन दर्ता गराएका थिए ।लामिछानेका तर्फबाट उनकी श्रीमती निकिताले शुक्रबार निवेदन दायर गरेकी थिइन् ।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीले यसअघिको आदेश खारेज गर्दै पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएपछि प्रहरीले उनलाई घरैबाट पक्राउ गरेर भोलिपल्ट भैरहवा पुर्याएको थियो ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रह्लादकुमार योगीको इजलासले लामिछानेलाई १ करोड धरौटीमा रिहा गर्न आदेश दिएको थियो । उक्त आदेशविरुद्ध सरकारी वकिल पक्ष र रवि आफैं पनि उच्च अदालत बुटवल पुगेका थिए ।