काठमाडौँ, वैशाख ३ :

कतार एयरवेजले नेपालमा उडान सङ्ख्या बढाउन चासो देखाएको छ । 

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी र कतार नागरिक उड्डयन प्राधिकरणका अध्यक्ष मोहमद विन फहेल अल हजारीबीच भएको भेटवार्ताको क्रममा कतारले नेपालमा उडान बढाउने सकारात्मक प्रतिक्रिया जनाएको हो । उनीहरूबीच कतारमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) फ्यासिलिटेसन कन्फ्रेन्सका क्रममा मंगलबार भेटवार्ता भएको हो ।
 
क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार महानिर्देशक प्रदीप अधिकारीले भैरहवा र पोखराबाट उडान गर्न आग्रह गरेका हुन् । जवाफमा कतारको सिभिल एभिएसनका अध्यक्षले दुवै विमानस्थलको प्राविधिक पक्ष र बजारको अध्ययन गरेर निर्णय लिने प्रतिक्रिया दिएको छ । कतारले काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा साविक बमोजिम उडान गर्नेगरी नेपालसँग प्रस्ताव राखेको छ ।

कतारले काठमाडौँमा दैनिक चारसहित साताको २८ उडान गर्दै आएको छ । यसबीचमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग मर्मतको क्रममा एक उडान भैरहवाबाट गर्ने व्यवस्था मिलाइएको थियो । नेपालको तर्फबाट भैरहवा र पोखरामा उडान गर्न आग्रह गरिएको थियो । 

भैरहवा र पोखराबाट कतार एयरवेजको उडान गर्नका लागि सहजीकरण गरिदिन त्यहाँको नागरिक उड्डयन प्राधिकरणलाई आग्रह गरिएको सूचना अधिकारी भुलले बताए ।

सो अवसरमा कतारले आइकाओ काउन्सिल परिषद्को निर्वाचनमा सहयोग गर्न आग्रह गरेको थियो । नेपालले सहयोग गर्ने बचन दिँदै र पोखराबाट उडान गर्नुपर्ने शर्त राखेको थियो । आइकाओ आवद्ध एक सय ९३ देशहरुमध्ये ३६ देशको काउन्सिल परिषद् हुन्छ । तीन समूहमा १२–१२ देश रहन्छन् । कतार सन् २०२२ मा तीन वर्षका लागि निर्वाचित भएको थियो । 

सन् २०२६ मा हुने काउन्सिल निर्वाचनका लागि कतारले नेपाललाई सहयोग मागेको छ । भैरहवा र पोखराबाट उडान गर्नुपर्ने पारस्परिक हित र सम्बन्ध सुमधुर बनाउन फलदायी छलफल भएको प्राधिकरणले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

हवाई उद्योगको हितका लागि आपसी चासोको समाधान गर्न छिट्टै संयुक्त प्राविधिक टोली गठन गर्ने समझदारीसहित बैठक सम्पन्न भएको क्यानले जनाएको छ ।

भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा करिब आधा दर्जन एयरलाइन्सले उडान गर्दै आएकामा समर सिजन अप्रिल १ अर्थात् चैत १९ देखि सुरु भएको समर सिजनमा कुनै पनि अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले भैरहवा उडानको ‘सेड्युल’ पेस नगरेपछि तत्काललाई अन्तर्राष्ट्रिय उडान स्थगित भएको विमानस्थल कार्यालयले जनाएको छ । उक्त विमानस्थलमा ३० मार्चसम्म अन्तर्राष्ट्रिय उडान भएको थियो ।