
काठमाडौं महानगरपालिकाका उपमेयर सुनीता डंगोल स्विट्जरल्यान्डको जेनेभाबाट विश्व आर्थिक मञ्च २०२५ का लागि विश्वव्यापी युवा नेता चयन भएकी छन् ।
मञ्चमा दक्षिण एसियाली मुलुकबाट ११ जना प्रतिनिधि छानिएका छन् । त्यसमध्ये नेपालबाट छानिनेमा डंगोल मात्र हुन् ।
उनी यसअघि विश्व आर्थिक मञ्चको ग्लोबल सेपर्स काठमाडौं हबको सदस्य थिइन् । विभिन्न ५० देशबाट प्रतिनिधित्व रहेको यस समूहमा ७ क्षेत्रमध्ये सरकारको प्रतिनिधित्व गर्दै उपप्रमुख डंगोल चयन भएकी भएकी हुन् ।
यस समूहमा ४० वर्षभन्दा कम उमेर भएका विश्वका ११६ युवा नेतृत्व हुन् ।
फोरमले उपमेयरको संक्षिप्त परिचय उल्लेख गर्दै आफ्नो वेबसाइटमा लेखेको छ, ‘उहाँ युवाहरुलाई प्रेरणा प्रदान गर्ने र सांस्कृतिक पहिचानलाई आधुनिकतासँग जोड्ने राजनीतिज्ञ हुनुहुन्छ ।’ विश्वस्तरीय मञ्चमा नेपालको प्रतिनिधित्व गर्नुमा गौरव र थप जिम्मेवारी महसुस भएको उपमेयर डंगोलको प्रतिक्रिया छ । ‘विश्व स्तरीय मञ्चमा प्रतिनिधित्व गर्न पाउनुले थप जिम्मेवारी महसुस भएको छ । राजनीतिक क्षेत्रबाट विशिष्ट पद ग्रहण गरिसक्नुभएका व्यक्तित्वहरुसँगको सहकार्यबाट युवाहरुलाई नेतृत्वका लागि प्रोत्साहित हुने काम गरिनेछन्,’ चयन भएपछिको संक्षिप्त प्रतिक्रियामा उपमेयर डंगोलले भनिन् ।
फोरमको युवा नेतृत्व समूहमा शैक्षिक क्षेत्रबाट १० जना, आर्ट, कल्चर एन्ड स्पोर्ट्सबाट ८ जना, व्यापारिक क्षेत्रबाट ४९ जना, नागरिक समाजबाट ११, मिडियाबाट ५, सरकारबाट १९ र सामाजिक उद्यमशीलता क्षेत्रबाट १३ जना चयन भएका छन् । सरकार, व्यवसाय, नागरिक समाज, शिक्षा, मिडिया र कला क्षेत्रका नेतृत्वलाई एकै ठाउँमा ल्याएर आफूले नेतृत्व गरेको क्षेत्रसँगै समुदाय र बाहिरका क्षेत्रहरुको दिगो र सकारात्मक प्रभाव सिर्जना गर्नु नेतृत्व चयनको उद्देश्य हो ।
विश्वव्यापी समस्याको सुधार र व्यवहारिक समाधान गर्न प्रतिबद्ध युवा नेताको सहभागिता यसको शक्ति हो । यसले विश्वव्यापी सञ्जाल निर्माण, सामूहिक कार्य र नवीनताका लागि कृत्रिम बौद्धिकता (एआई) सहितका प्रविधिको प्रयोग गरेर नयाँ दृष्टिकोण सिर्जना गर्नेछ ।
यसबाट परिवर्तनको अपेक्षा गरिएको छ । युवा नेताहरुले परिवर्तन अँगाल्न सक्नेछन् । प्रगतिलाई तीव्र बनाउन काम गर्नेछन् । अरुलाई प्रेरित गर्नेछन् । नेतृत्व चयनका विषयमा फोरम अफ योङ ग्लोबल लिडर्स फाउन्डेसनका अध्यक्ष निकोल स्वाबको भनाइ छ । सन् २००४ मा स्थापना भएदेखि, युवा ग्लोबल लिडर्स फोरममा १२० भन्दा बढी देशका १४ सय भन्दा बढी सदस्य छन् ।