
तनहुँ, वैशाख ३ :
पृथ्वीराजमार्गअन्तर्गत आँबुखैरेनी गाउँपालिका- ४ डम्पिङमा आज दिउँसो तरकारी बोक्ने जिप र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा आँबुखैरेनी गाउँपालिका- ३ का २० वर्षीय रुपेश गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
आँबुखैरेनीबाट मुग्लिनतर्फ जाँदै गरेको ना ४ च ८३९० नम्बरको तरकारी बोक्ने जिप र विपरीत दिशाबाट आउँदै गरेको ग १६ प १५७० नम्बरको स्कुटर ठोक्किँदा घाइते गुरुङको चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए ।
दुर्घटनामा स्कुटरमा सवार आँबुखैरेनी गाउँपालिका- ३ का १९ वर्षीय रोहन मगर घाइते भएका छन् । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।