ललितपुर, वैशाख ४ :

बिहीबार साँझको वर्षाले थापाथली करिडोरस्थित ढल निकासको पाइप फुट्दा सडक जलमग्न भएको छ। ढल मिसिएको फोहोर पानी सडकमा जम्दा सवारी साधन सञ्चालनमा कठिनाइ भएको छ भने पैदल यात्रीलाई समेत आवतजावत गर्न समस्या भएको छ।

स्थानीयवासीका अनुसार वर्षासँगै ढल निकास प्रणालीले काम नगरेपछि पाइपको एक भाग फुटेको छ। पाइप फुटेपछि करिडोर क्षेत्र दुर्गन्धित् बनेको छ ।  ट्राफिक प्रहरीले सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ।

यसैबीच महानगरपालिका तथा सम्बन्धित निकायले क्षति निरीक्षण गरी तत्काल मर्मतको काम सुरु गर्ने जनाएको छ। स्थानीय बासिन्दाले भने यस्ता समस्या पटक–पटक दोहोरिरहेकाले दिगो समाधान खोज्न आग्रह गरेका छन्। लगातारको वर्षासँगै राजधानीका विभिन्न क्षेत्रमा जलमग्न हुने गरेको छ। थापाथली करिडोरमा मात्रै होइन, अन्य मुख्य सडक खण्डहरूमा पनि पानी जम्ने समस्या यथावत् देखिन्छ। 

जल तथा मौसम पूर्वानुमान विभागले अझै तीनदिन पानी पर्ने जनाएको छ । यो अवधिमा झन् क्षति हुन सक्ने हुँदा बेलैमा सरकारले सावधानी अपनाउनु पर्ने देखिन्छ ।